
कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पत्रकारको टिम र नगरपालिकाका कर्मचारीबीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिमले जित हासिल गरेको छ । पत्रकारको टिमले ३–१ को गोल अन्तरले जित हासिल गरेको हो ।
हरि अधिकारीको नेतृत्वमा रहेको पत्रकार टिमका चन्द्रकान्त न्यौपानेले २ तथा कप्तान हरि अधिकारीले १ गोल गरेका थिए । न्यौपाने म्यान अफ द म्याच बन्न सफल भएका छन् ।
त्यस्तै तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागी वडा नम्बर १ र २ भिड्ने भएका छन् । आज वडा नम्बर १ र ६ बीच भएको पहिलो खेलमा वडा नम्बर १ ले जीत हासिल गरेको छ । वडा नम्बर १ ले ४–० गोलको फराकिलो गोल अन्तरले जित हासिल गर्दै फाईनल प्रवेश गरेको हो ।
त्यस्तै वडा नम्बर २ र १० बिच भएको दोस्रो खेलमा वडा नम्बर २ ले जित हासिल गरेको छ । वडा नम्बर २ ले २–१ को गोल अन्तरले संघषपूर्ण जीत हासिल गर्दै फाईनलमा वडा नम्बर १ संगको भेट पक्का गरेको हो । नगरपालिकाले दिएको जानकारी अनुसार भोलि फाईनल खेल हुने छ । प्रतियोगिताको बिजेता,उपबिजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः ९० हजार, ६० हजार र १५/१५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।








