
काठमाडौं : नेपाली कांग्रेसले म्यानमारमा पछिल्ला दिनमा भइरहेको प्रदर्शनमा सेनाले गरेको दमनलाई नरसंहारको संज्ञा दिएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिंस्रक दमनको कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाउन सबैलाई आग्रह गरेका छन्। उनले सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरेको भन्दै त्यसप्रति चर्को निन्दासमेत गरेका छन्।
‘म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ’, प्रवक्ता शर्माले विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ।’
विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यवद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको भन्दै शर्माले यस्तो बताएका हुन्।
‘म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालि रहेका छौं’, शर्माले विज्ञप्तिमा भनेका छन्, ‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ।’
दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपील समेत गरेका छन्।








