काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरूद्ध आवश्यक मात्रामा खोप ल्याउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताएका छन्। सोमबार विज्ञप्ति जारी गरेर देउवाले यसअघि खोप उपलब्ध गराएका भारत र चीनलाई धन्यवादसमेत दिएका छन्।
थप खोप ल्याउनेबारे सरकारले ठोस योजनासहित कुटनीतिक पहल गर्नुपर्ने देउवाको भनाइ छ। उनले कोरोना संक्रमित संख्या वृद्धि भइरहेकोले देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने पनि बताएका छन्।
आइसियू र भेन्टिलेटरको संख्या थप गर्न उनले सरकारसँग मागसमेत गरेका छन्। साथै कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइराख्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।
थप संक्रमण फैलन नदिन सरकारले हरसम्भव उपाय लगाउनुपर्ने देउवाको भनाइ छ।








