गृहपृष्ठ अर्थ/वाणिज्य लुम्बिनी प्रदेश : कोरोना अस्पताललाई थप ७ करोड बजेट, कपिलवस्तु अस्पताललाई १५ लाख

लुम्बिनी प्रदेश : कोरोना अस्पताललाई थप ७ करोड बजेट, कपिलवस्तु अस्पताललाई १५ लाख

रुपन्देही : लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुलाई दोस्रो लहरको कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि थप ७ करोड ७४ लाख बजेट पठाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको केही दिनअघि बसेको बैठकले बजेटको सुनिश्चिता गर्दै बजेट छुट्टयाएको थियो ।

निर्णयसँगै बजेट निकासाको प्रक्रिया शुरु गरिएको प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिएका छन् । उक्त बजेट प्रदेश आपूर्ति केन्द्र, कोरोना अस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालयहरुलाई कोरोना रोकथाम र नियन्त्रणका लागि पठाइएको हो ।

मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बैठकले प्रदेश आपूर्ति केन्द्र, बुटवलका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त बजेटबाट केन्द्रले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्टर किट्स्, पिपिई र कोभिड १९ परीक्षणका लागि आर एन ए एक्सटक्सन किट्स, रिएजेन्टस, केमीकल लगायतका सामग्री खरिद गर्न सक्नेछ ।

त्यसैगरी बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवाका लागि कोभिड १९ परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट कन्ज्युमेबल्सका लागि २० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्राविधिक कार्यदलको सिफारिस अनुसार लुम्बिनी प्रदेशमा रहेका तराईका ३ अस्पतालहरु पृथ्वीचन्द्र अस्पताल परासी, बर्दिया अस्पताल गुलरिया र कपिलवस्तु अस्पताल तौलिहवालाई १५ लाखका दरले ४५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी बैठकमा पहाडका ७ अस्पतालहरु पाल्पा अस्पताल, तानसेन, रामपुर अस्पताल, रामपुर, गुल्मी अस्पताल, तम्घास, अर्घाखाँची अस्पपताल, सन्धिखर्क, प्यूठान अस्पताल, बिजुवार, रोल्पा अस्पताल रेउघा र रुकुमपूर्व अस्पताल, सिस्नेलाई १० लाखका दरले ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार