नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ । सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो १ बजेर १० मिनेटमा जारी गरेसँगै नेपाल पक्ष छलफलमा जुटेका हुन् ।
यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर शंकलन गरेकोमा स्थायी कमिटी सदस्यले भने असहमति जनाएका छन् । नेपाल पक्षका स्थायी कमिटी सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसालले मात्रै हस्ताक्षर गरेका छन् ।
केन्द्रीय सदस्य राजेन्द्र राईका अनुसार खनालले विभाजनका लागि हास्ताक्षर पठाएका हुन् । माधव नेपाल जसरी पनि पार्टी विभाजन गर्न लागेकाले आफूहरूले साथ दिन नसकेको एक स्थायी कमिटी सदस्यले बताए ।








