बुटवल : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन्। महन्थ ठाकुर र राजेन्द्र महतो समूहका केन्द्रीय नेतासमेत रहेको चौधरी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनी जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए। दुई दिनसम्म चलेको बैठकको दोस्रो दिन उनी सहभागी भएका हुन्। बैठक भदौ १ र २ गते भएको हो।
चौधरीले आफु यादव नेतृत्वकै पार्टीमा रहेको स्पष्ट पारेका छन्। उनले यसअघि पनि आफू जसपामै रहेकोले सोही पार्टीमा रही राजनीतिलाई निरन्तरता दिने जनाएका छन्। महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा जसपा, नेपाल लोकतान्त्रिकको नाम राखेर बेग्लै पार्टी दर्ताका लागि निवेदन दिएपछि मेयर चौधरी यादवको पक्षमा खुलेका हुन्।








