बुटवल : प्रतिनिधिसभाको ठूलो दल नेकपा ९एमाले० विभाजनको असर प्रदेशसभा र स्थानीय तहमा पनि देखिन थालेको छ। निर्वाचन आयोगमा माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै यसको असर प्रदेश जिल्ला तथा स्थानीय तहसम्म देखा पर्न थालेको हो।
माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिइएकोमा बिहीवार आयोगको सुझाव अनुसार नेकपा ९समाजवादी० दर्ताका लागि निवेदनमा परिवर्तन गरिएको छ।
यता, एमाले विभाजनको असर लुम्बिनी प्रदेशसभामा भने न्युन परेको छ। लुम्बिनी प्रदेशबाट एमालेको केन्द्रमा पकड बनाएका नेताहरु अहिले नेपाल समूहमा खुल्न सकेका छैनन्। ओलीको पक्षमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसहित माओवादीबाट आएका टोपबहादुर रायमाझी समेत छन्। त्यस्तै, माधव समूहमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट, युवराज ज्ञवालीले नयाँ दल दर्ता प्रक्रियामा सामेल भएका छैनन्। यस्तो हुँदा माधव समूह प्रदेशमा कमजोर बन्न पुगेको छ।
लुम्बिनी प्रदेशसभामा ओली समूहको बाहुल्य छ। प्रदेशसभामा स्पष्ट रुपमा खुलेका दुई जना सदस्यमात्र नेपाल पक्षका छन्। ३८ सदस्य रहेको एमाले संसदीय दलमा ३६ जना ओली पक्षमा छन्।
हाल लुम्बिनी प्रदेशसभामा दुई जना सदस्यहरु बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा खुलेका छन्। सुरुदेखि नै नेपाल समूहमा रहेका उनीहरु शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म सार्वजनिक रुपमा खुलेका थिएनन्।
कूलप्रसाद केसीको नेतृत्व आएसँगै उनीहरु माधव नेपाल नेतृत्वमा सहभागी हुने बताउँछन्। पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने घर्ती पाल्पाबाट समानुपातिक सदस्य हुन्। पन्थीले आफू सुरुदेखि नै माधव नेपाल समूहमै रहेको बताए।
‘म त पुस ५ पछि निरन्तर नेपाल समूहमै छु नि,’ पन्थीले भने।
माधव नेपाल नेतृत्वको एमालेको समानान्तर कमिटीको अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशसभा सदस्य बिस्तार तथा पालिका प्रमुख उपप्रमुख पनि बिस्तार प्रक्रियामा रहेको बताए।
‘केन्द्रमा हाम्रो पार्टी दर्ताको प्रक्रियामा रहेको छ। केही दिनमा नै वैधानिकता पाउनेछ, त्यतिबेलासम्म प्रदेशसभा सदस्य तथा पालिका प्रमुख तथा उपप्रमुखलाई हामीतिर ल्याउन पहल गरिरहेका छौँ,’ उनले भने।
पार्टीको नाम, चुनाव चिन्ह लगायतका कुराहरु टुंगिएपछि धेरै प्रदेशसभा सदस्यहरु आफुहरुसँग आउने उनले दाबी गरे । लुम्बिनीका सांसदलाई खुल्न नदिनका लागि एमाले ओली पक्षले अपहरण समेत गरेको आरोप लगाउँदै उनले अहिले खुलेका र आउने निश्चित भएका सांसदको नाम खुलाउन नसक्ने प्रतिक्रिया दिए।
उनले नयाँ पार्टीको टुंगो लागेसँगै प्रदेशसभाका १५ जना सदस्य आफ्नो समूहमा आउने दाबी गरे।








