गृहपृष्ठ खबर काम गर्न विदेश गएकाहरुको मृगौलामा यसकारण समस्या देखिन सक्छ !!

काम गर्न विदेश गएकाहरुको मृगौलामा यसकारण समस्या देखिन सक्छ !!

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले एक वर्षमा एक सय ५० जनाभन्दा धेरैको मृगौला प्रत्यारोपण गर्ने गरेको बताएको छ । त्यसमध्ये २५ प्रतिशत चाहिँ वैदेशिक रोजगारीबाट फर्किएकाहरु रहेको केन्द्रको भनाई छ । वैदेशिक रोजगारीमा जानेहरुको मृगौलामा समस्या देखिनुको कारण र यसबाट बच्ने उपायबारे केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौं । 

वैदेशिक रोजगारीमा जाने व्यक्ति र उनीहरुमा देखिने मृगौलाको समस्या कस्तो छ ?

वैदेशिक रोजगारीमा गएर फर्किनेहरुमा देखिने मृगौलाको समस्यालाई हामीले गम्भीर समस्याको रुपमा लिएका छौं । किनभने हाम्रो अनुभवमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक वर्षमा डेढसय जनाभन्दा धेरैको मृगौला प्रत्यारोपण हुन्छ । त्यसमध्ये २५ प्रतिशतभन्दा धेरै चाहिँ वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्छन् । भनेपछि विदेश गएर फर्किनेहरुमा मृगौलाको समस्या किन यति धेरै भइरहेको छ भनेर सुक्ष्म अध्ययन नै गर्नुपर्ने देखेका छौं ।

भनेपछि पहिलाको भन्दा सङ्ख्या बढ्दै गएकाले हो तपाईंले गम्भीर हुनुपर्छ भन्नुभएको ?

पक्कै पनि हो । किनभने जाने बेलामा उनीहरुको स्वास्थ्य परीक्षण गरेर स्वस्थ छ भन्ने प्रमाणित भएपछि मात्रै पठाइएको हुन्छ । उसमा केही समस्या छ भने त ऊ वैदेशिक रोजगारीमा जान योग्य मानिँदैन । तर मलाई त त्यसमा पनि शंका छ । हामीले परीक्षण गर्ने ल्याबको स्तर के छ ?, हामीले गर्ने परीक्षण कत्तिको स्तरीय छ ? हामीले कामदारको स्वास्थ्य परीक्षण गरेर दिएको नतिजा भरपर्दो छ कि छैन ? भन्ने शंका गर्नुपर्ने स्थिति छ ।

कारण, यहाँबाट स्वस्थ भनेर पठाइएका व्यक्तिहरु त्यहाँ पुगेर गरिएको परीक्षणमा फेल भएर फर्किएका कुरा पनि हामीले सुनेकै छौं । गएको ६ महिनामै मृगौला फेल भएर फर्र्किएका व्यक्ति पनि भेटेको छु । किन यस्तो भयो त ? त्यसैले त्यो ‘मेकानिजम’ कै बारेमा पनि सोच्नुपर्छ जस्तो लाग्छ ?

अनि साँच्चै नै मृगौला स्वस्थ हुँदा हुँदै गएका व्यक्तिहरु पनि मृगौला फेल भएर फर्किएका छन् । त्यसैले हाम्रो कुन कुन तहमा कमजोरी छ भनेर एक पटक सुरुदेखि नै विचार पु¥याउनुपर्ने भएको छ ।

विदेश जानेहरुमा मृगौलाको समस्या देखिनुका कारण चाहिँ के के पाउनुभएको छ ?

उनीहरुसँग कुरा गर्दा के स्पष्ट हुन्छ भने विदेशको धेरै गर्मी, काम गर्ने ठाउँमा पानी पिउने राम्रो व्यवस्था नहुनु, सन्तुलित खाना खान नपाउनु आफूलाई स्वस्थ राख्न गर्नुपर्ने यस्ता साधारण उपाय पनि वैदेशिक रोजगारीमा जाने नेपालीहरुले गर्न पाएका छैनन् ।

त्यसले गर्दा मृगौलासहित अरु पनि स्वास्थ्य समस्या देखिइरहेको छ । धेरै नेपालीहरु विदेशमा शारीरिक परिश्रम धेरै हुने ठाउँमा काम गर्नुहुन्छ । एक त शारीरिक परिश्रम त्यसमा पनि त्यहाँको धेरै गर्मी त्यसले गर्दा उहाँहरुले धेरै पानी पिउनुपर्छ तर अवस्था उल्टो छ । काम यस्तो गरे पनि पर्याप्त मात्रामा पानी पिउन पाउनुहुन्न ।

लामो समय यस्तो भइरहँदा ‘डिहाइडे«सन’ हुन्छ । त्यही समस्या केही समयसम्म रहिरह्यो भने त्यसले मृगौलामा असर पर्न थाल्छ । धपेडीमा काम गर्ने, आराम गर्न नपाउने अनि दिनभरी काम गरेर ज्यान थाकेपनि बेलुका सन्तुलित खाना नभई जे उपलब्ध हुन्छ त्यही खाँदा मृगौलाको समस्या भएको पाएका छौं ।

त्यति मात्रै होइन हामी शक्ति दिन्छ भनेर विभिन्न खालका पेय पदार्थहरु पनि पिउँछौं । त्यसले हामीले थाहा नपाउने गरी मृगौला जस्ता शरीरका एकदमै महत्वपूर्ण अंगहरुमा प्रभाव पारिरहेको हुन्छ ।

अर्को कुरा वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बस्ने व्यवस्था कस्तो छ भन्ने कुराले पनि प्रभाव पार्छ । उहाँहरु धेरै हल्ला हुने ठाउँमा बस्नुहुन्छ भने त्यसले तनावमा पर्छ । त्यही तनावका कारणले मृगौलामा असर पर्न सक्छ । यो त हामीले बिरामीहरुसँग कुरा गरेर थाहा पाएको कुरा हो । अझै यस बारेमा प्रष्ट हुन त अध्ययन गर्नु नै जरुरी छ ।

साधारणतया सबैले भन्ने कुरा भनेको चाहिँ मृगौलालाई बचाउन पानी पर्याप्त पिउने अनि खानामा ध्यान दिने भन्छौं । योभन्दा अरु कुरा चाहिँ छैनन परदेशमा भएकाहरुका मृगौलालाई असर पार्ने ?

मैले अध्ययन त गरेको छैन । त्यसका लागि अध्ययन नै गर्नुपर्छ । तर उहाँ भएको ठाउँमा नपुगे पनि यहीँबाट सोच्दा र बिरामी भएर फर्किएकाहरुले भनेको सुन्दा दिनभरी काम गरेर ज्यान दुख्यो भने दुखाई कम गर्ने औषधीहरु पनि खाने गरेको पाएको छु ।

ब्रुफिन जस्ता दुखाई कम गर्ने औषधी डाक्टरसँग सल्लाह नै गरी खाँदा त्यसले पनि मृगौलालाई असर पार्छ । अनि अर्को कुरा कतिको तनाव भयो भनेर रक्सी खाने बानी हुन्छ । त्यसले पनि मृगौलामा असर पार्छ । यसरी हेर्दा यही एउटा कारणले नै विदेश गएकाहरुको मृगौला बिग्रियो भन्न सक्ने अवस्थामा म छैन । यसका लागि त अघि नै मैले भनेको जस्तै अध्ययन गर्नु नै जरुरी छ ।

तपाईंले अघि भन्नुभयो नि दुखाई कम गर्ने औषधीले पनि असर गर्छ भनेर हामीले रिपोर्टिङका क्रममा नवलपरासीमा भेटेको मुन्ना हरिजनले पनि बिरामी हुँदा छिटो निको हुने औषधी दिन्थ्यो भन्नुभएको थियो ? उहाँ १४ महिनामा दुवै मृगौला फेल भएर घर फर्किनुभयो । उहाँको निधन भयो । के मृगौला नै फेल गर्ने खालका औषधी पनि हुन्छन ?

यस्तो कुरा बस्तुगत रुपमा अध्ययन नगरी भन्न सकिँदैन । यसका लागि कुन औषधी दिएको थियो, कति मात्रामा दिएको थियो भनेर अध्ययन नै गर्नु जरुरी छ । तर कतिपय औषधीहरु चाहिँ डाक्टरसँग सल्लाह नगरी खाँदा त्यसको मात्रा फरक पर्छ । त्यसले शरीरका विभिन्न भागमा नोक्सानी पु¥याउँछ । त्यसैले कुनै पनि औषधी डाक्टरसँग सल्लाह नगरी खानु हुँदैन ।

यसबाट जोगिन रोजगारीका लागि विदेश गएको व्यक्ति आफैंले के गर्न सक्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा त मृगौलाको परीक्षण नै हो । हरेक व्यक्तिले मेरो मृगौला ठिक छ कि छैन भनेर प्रत्येक ६÷६ महिनामा जाँच गर्नुपर्छ । यदी ६ महिनामा सम्भव छैन भने पनि वर्षमा एकपटक चाहिँ जाँच गर्नुपर्छ ।

किनकी जाँच नगरी बस्दा मृगौलामा समस्या भएको थाहा नै हुँदैन । यसको लक्षण चाहिँ मृगौला ९० प्रतिशत खराब भइसकेपछि मात्रै थाहा हुन्छ । ९० प्रतिशत खराब हुनु भनेको फेल हुनु बराबर नै हो । त्यो अवस्था मात्रै थाहा पाइने हुनाले सावधानी अपनाउनु नै पहिलो उपाय हो ।

जाँचबाट थाहा भएपछि निको पार्न सक्ने अवस्थामा छ भने त्यही अनुसारको उपचार गर्न सकिन्छ भने यदी उपचार गरेर नहुने अवस्था भइसकेको छ भने त्यसलाई लामो समय कसरी टिकाउन सकिन्छ त्यो उपाय अपनाउन सकिन्छ ।

नियमित स्वास्थ्य परीक्षण गर्ने त स्वस्थ व्यक्तिले हो । यदि व्यक्तिमा उच्च रक्तचाप, मधुमेह जस्ता समस्या छ भने त उनीहरुको मृगौलामा समस्या देखिने सम्भावना धेरै नै हुन्छ । त्यसैले यस्ता व्यक्तिले झनै ध्यान पु¥याउनुपर्छ । अर्को कुरा शरीरको तौल र मोटाइ बढ्न नदिने, शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा खानुपर्ने कुरा त छँदैछ ।

हामीले भन्न त भन्छौं तर रोजगारीका लागि विदेश पुगेका व्यक्तिहरुलाई यी सबै कुरा गर्न समय अनि सुविधा मिल्दैन । यस्ता अवस्थामा चाहिँ के गर्ने ?

स्वास्थ्य परीक्षणको विकल्प त के छ र । परीक्षण नगरी सचेत नभई जोगिन सकिन्छ भनेर त म भन्न सक्दिन । आफू स्वस्थ भइयो भने न सबै कुरा रहन्छ । उहाँ स्वस्थ हुन्जेल मात्रै न कम्पनीले काम दिने हो ।

बिरामी भएको वा मृगौलामा समस्या देखिएको दिन त उहाँलाई कम्पनीले फिर्ता पठाइहाल्छ नी । यस्तो भयो भने कमाएको पैसा पनि सकिन्छ । ज्यान पनि कमजोर हुन्छ । त्यसैले यदी कम्पनीले यस्तो सुविधा दिएको छैन भने पनि आफैं सचेत भएर स्वास्थ्य परीक्षण चाहिँ गर्नै पर्छ ।

अनि यसमा सरकारको दायित्व चाहिँ ?

सरकारको त झनै ठूलो दायित्व छ । अहिले रेमिट्यान्स देशको अर्थतन्त्रको ठूलो हिस्सा हो भन्ने अनि कामदारको स्वास्थ्यमा चाहिँ ध्यान नदिने हो भने यो त एक दिन गुम्न सक्छ । आज दुई जनाको भयो भनेर चुप लागेर बस्ने हो भने भोलि ५, पर्सि १० हुँदै यो सङ्ख्या बढेर जान्छ । त्यसैले सरकारले यसमा ध्यान दिनु जरुरी छ ।

यसका लागि सरकारले त्यही देशको रोजगारदातासँग कामदारको स्वास्थ्य परीक्षण र उनीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुविधा दिलाउन पहल गर्नुपर्छ । सबैभन्दा व्यवहारिक पनि त्यही हो ।

यदि त्यो गर्न सकिँदैन भने सरकारले नै केही लगानी गरेन वैदेशिक रोजगारीमा गएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्नुपर्छ ।

सम्बन्धित् समाचार