महोत्सवमा पतञ्जली योग शिविर संचालन भएको छ । मंसिर ७ गते विहान ६ बजेदेखि दुई घण्टे पतञ्जली योग शिविर संचालन भएको हो । योग शिविर उद्घाटन गर्दै पतञ्जली योग समिति प्रदेश ५ का प्रभारी (प्रमुख) सहायक प्राध्यापक प्रेम शाहले योगलाई जीवनशैली एवं जीवन पद्धति भएको बताएका छन् । जन्मिदा मानिस निरोगी भएर नै जन्मन्छ तर जीवन जिउने शैलीका कारण विभिन्न रोगको सिकार हुनुपरेको योग समिति प्रदेश प्रमुख शाहले उल्लेख गरे । उनले भने – “रोगी मानिसका लागि योग चिकित्सा पद्धति हो भने निरोगी मानिसका लागि साधना पद्धति हो ।” योग संकल्प, पुरुषार्थ, निरन्तरता र एकाग्रताले मात्र सम्भव भएको बताउँदै पहिलो सोंच नै सफलताको एकाग्रता भएको उनले बताए ।
योग शिविर उद्घाटन समारोहमा बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले स्वास्थ्य नै धन भएकोमा जोड दिए । स्वस्थ बन्न हरेक चिजको खाँचो परेझै जीवनलाई सरल, स्वच्छ, स्वस्थ बनाउन तथा समाज र राष्ट्रको सेवा गर्ने सन्दर्भमा योग अत्यन्त महत्वपूर्ण पाटो भएको नगरप्रमुख अधिकारीले उदृत गरे ।
यसैगरी योग शिविर उद्घाटनमा पतञ्जली योग समिति प्रदेश ५ का उपाध्यक्ष सहप्रभारी शारदा पोख्रेलले पाँच औंला मुखमा हाल्न सक्दासम्म योग साधना गर्नुपर्नेमा जोड दिइन् । जीवनमा हरेक कुरा गरेर पनि शरीरका लागि केही पनि छट्यााँउन नसक्नु ठूलो कमजोरी भएको उनले बताइन् । यसैगरी योग समिति कपिलवस्तुका अध्यक्ष कृष्णमुरारी ज्ञवालीले मानिस स्वस्थ र निरोगी रहन योग साधना आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा योग समिति प्रदेश ५ कोषाध्यक्ष मधुमालती अधिकारी, पतञ्जली योग समिति दाङका महासचिव विष्णु प्रसाद पुरी, कपिलवस्तुका संचार प्रभारी कृष्ण प्रसाद भट्टराई लगायत रोटरी क्लब अफ कपिलवस्तु, रोट्रयाक, इन्ट्याकका पदाधिकारी, शिवगढी इंगलिस स्कूलका बालबालिका, शिक्षकहरुको सहभागिता रहेको थियो । शिविरमा ख्यातीप्राप्त प्रशिक्षकहरुद्वारा पतञ्जली योग सिकाउने आयोजक संस्था रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तोयानाथ गैरेले बताएका छन् । योग शिविर रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तोयानाथ गैरेको अध्यक्षता, योग समिति प्रदेश ५ का प्रमुख प्रेम शाहको प्रमुख आतिथ्यता र शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अर्जुन पौडेलले स्वागत गरेका थिए । योग शिविर मंसिर १० गतेसम्म चल्ने बताइएको छ ।








