वीरगञ्ज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्नेमध्येका एक नेता सिंह लोसपा परित्याग गरी छिट्टै नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् ।
नेता सिंहलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै वीरगञ्ज ल्याउने तयारी छ । नेता सिंहले बुधबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । नेता सिंहले आफू एमाले प्रवेश गर्न लागेको पुष्टि पनि गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका थिए । १२ हजार १ सय ६५ मत ल्याएर उनी तेस्रो स्थानमा आएका थिए । त्यतिखेर राजपामै रहेका पर्सा क्षेत्र नं २ का सांसद बिमल श्रीवास्तवले लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएपछि उनी कमजोर बन्न पुगेका थिए ।
पछिल्लो समयमा उनले मधेस प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्छ भनेर आन्दोलन गरेका थिए । शुक्रबार नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै नेता सिंहले मधेस आन्दोलनको भावनालाई मधेसवादी दलका शीर्ष नेताले कुर्सीसँग सौदावाजी गरेकोले पार्टी परित्याग गरेको बताए ।








