गृहपृष्ठ Featured कपिलवस्तुमा साढे ३ लाख बढीले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाए

कपिलवस्तुमा साढे ३ लाख बढीले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाए

सागर वि.क./बसन्ता भुसाल (कपिलवस्तु) : कपिलवस्तुमा साढे ३ लाख बढीले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । जिल्लामा हालसम्म ३ लाख ७८ हजार ६ सय ५३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । हालसम्म ४ लाख २८ हजार ४ सय ४ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो । प्रमुख पाण्डेका अनुसार जिल्लामा हालसम्म ७ हजार ६ सय ६० जनाले कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाएका छन् ।

हाल जिल्लामा ५ सय १८ जना कोरोनाका संक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । गत पुस महिनादेखि यता कोही पनि कोरोना संक्रमितको ज्यान नगएको प्रमुख पाण्डेले बताउनुभयो ।

यता बाणगंगा नगरपालिकामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कोरोना विरुद्धको दोस्रो डोज खोप लगाएका छन् । बाणगंगा स्थित मोतिपुर स्वास्थ्य चौकीबाट जम्मा दुई हजार २ सय जनाले खोप लगाएका हुन् । स्वास्थ्य चौकीबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले नगरपालिका विभिन्न विद्यालयमा गरी १२ देखि १७ वर्ष उमेर सम्ुहका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दोस्रो डोज खोप लगाएर सकिएको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य चौकीबाट करिब एक हजार ७ सय विद्यार्थीले कोरोना विरुद्धको दोस्रो मात्रा स्वरुप मोर्डना खोप लगाएका छन् ।

सरकारले शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोपको पूर्ण मात्रा लगाएपछि विद्यालय संचालनको तयारी गरिरहेका बेला बाणगंगाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु (१२ देखि १७ वर्ष) ले कोरोना विरुद्धको दोस्रो खोप लगाएका हुन् । यस अघि पनि विद्यार्थीहरुलाई सोही खोप दिइएको थियो भने अहिले दोस्रो मात्रा पनि दिइएको छ ।

यस्तै यस अघि विभिन्न कारणले पहिलो खोप लगाउन छुट भएका एक सय जनाले खोप लगाएको घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी कोभिसिल्ड २ सय ५० जोनसोन एण्ड जोनसोन १ सय जना र भेरोसेल खोप १ सय ५० जनाले लगाएको प्रमुख घिमिरेले जानकारी दिनुभयो । आजबाट खोप कार्य बन्द भएको छ भने अब आउने खोप सर्वप्रथम जेष्ठ नागरिकलाई लगाईने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार