गृहपृष्ठ Featured म्याद सकिएका भ्रातृ संगठनहरुको समिति विघटन गर्ने कांग्रेसको निर्णय

म्याद सकिएका भ्रातृ संगठनहरुको समिति विघटन गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेर म्याद सकिएका भ्रातृ संगठनहरुको कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ। माघ २७ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरुको तदर्थ कार्यसमिति भंग गर्ने निर्णय गरेको हो।

नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल मुस्लिम संघदेखि शुभेच्छुक संस्थाहरुको तदर्थ कार्यसमिति भंग गरिएको कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए।

कांग्रेसका भ्रातृ संगठनहरुले लामो समयदेखि महाधिवेशन गर्न नसक्दा नेतृत्व लथालिंग अवस्थामा थिए। यसअघिका तदर्थ समितिमा नेतृत्वमा रहेका नेताहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै भ्रातृ संगठनहरु नेतृत्वविहीन बनेका थिए।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महिला संघकी अध्यक्ष उमा रेग्मी हाल कांग्रेस केन्द्रीय समितिमा निर्वाचित भइसकेका छन्।

कांग्रेसका दर्जन भ्रातृ संस्थाको म्याद यसअघि नै सकिएको थियो। म्याद सकिएको संस्थामा नयाँ कमिटी चयन हुने र महाधिवेशनको समय तोकिने तयारी छ। यसको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिने केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको छ।

‘पार्टीको विभिन्न तहको विभिन्न पदहरुमा निर्वाचित या मनोनित भ्रातृ शुभेच्छुक संस्थाको सभापति वा पदाधिकारीको पद नेपाली कांग्रेसको विधानको धारा ४२ को १ ङ अनुसार स्वत रिक्त भएकोले ती पदहरुमा पदपूर्ति गर्ने निर्णय यो बैठकले गरेको छ’, बैठकपछि कांग्रेस प्रवक्ता डा महतले भने, ‘केन्द्रको हकमा केन्द्रीय सभापतिले यथाशीघ्र परामर्श गरी पदपूर्ति गर्ने निर्णय गरेको छ।’

फागुन मसान्तभित्र नेविसंघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक संघको तदर्थ समितिसमेत चयन गर्ने बैठकले निर्णय गरेको छ।

सम्बन्धित् समाचार