गृहपृष्ठ Featured कपिलस्तुसहित पश्चिम तराईका जिल्लामा ३ दिनसम्‍म लू लाग्‍ने विज्ञको चेतावनी

कपिलस्तुसहित पश्चिम तराईका जिल्लामा ३ दिनसम्‍म लू लाग्‍ने विज्ञको चेतावनी

बुटवल : लुम्बिनी प्रदेशको कपिलवस्तुसहित पश्चिम तराईका जिल्लामा आउँदो तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककमा रहेको क्षेत्रीय बहुप्रकोप केन्द्र ९राइम्स० द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ ।

यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार तीन दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने बताउनुभयो । उहाँले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सचेत रहन आवश्यक रहेको बताउनुभयो । जलवायु विज्ञ डा। उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने धेरै सम्भावना रहेको बताउनुभयो । जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनुभयो । जलवायुविज्ञ डा. उप्रेतीले अहिले औसत पृथ्वीको तापक्रम १ दशमलव १ डिग्री रहेको र भारतले जारी गरेको एक सय २२ वर्षको तथ्याङ्कमा १ दशमलव ८६ डिग्री सेल्सियसले तापक्रम औसतमा बढेको देखिएको बताउनुभयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले चुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव पनि दिनुभयो । उहाँले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्यधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिलालगायतकालाई बढी असर गर्ने बताउनुभयो ।

अत्यधिक गर्मीका कारण मान्छे बेहोस हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएकोले पानी बढी मात्रामा पिउन आवश्यक रहेको उहाँले बताउनुभयो । लूबाट बच्नका लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरू बिहानको समयमा गर्ने वा तीन बजेभन्दा पछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरि बिहान र बेलुकाको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।

सम्बन्धित् समाचार