केन्द्रीय सत्तारुढ गठबन्धनले आपसमा तालमेलसहित स्थानीय तहको निर्वाचनमा जान निर्देशन दिए पनि गठबन्धनमा आवद्ध दलहरु लुम्बिनी प्रदेशका केही जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमाकपिलवस्तुसहित रुपन्देही, बाँके, रोल्पा, नवलपरासी, प्युठानका केही स्थानीय तहमा गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धासहित चुनावमा जाने सहमति भएको हो ।
गठबन्धन घटकबीच आफू बलियो रहेको भन्दै पालिका प्रमुख पदका लागि आपसमै हानथाप भएपछि यस्तो सहमति गरिएको हो । रुपन्देहीमा १६ स्थानीय तहमध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिकामा गठबन्धन घटकहरु छुट्टाछुट्टै चुनाव लड्ने सहमति भएको हो । यस्तै, बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिका र केही स्थानीय तहमा जसपाले गठबन्धनबीच तालमेल बिना नै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । रोल्पा जिल्लामा पनि गठबन्धन घटक मित्रवत् प्रतिस्पर्धामा जाने तयारी भएको छ ।
नेपाली काँग्रेसले रोल्पामा तालमेल नभए पनि आफूले ५ भन्दा धेरै स्थानीय तह जित्ने दाबी गरेको छ । यहाँ माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा ७ वटा स्थानीय तह जितेको थियो । अहिले त्योभन्दा धेरै जित्ने उसको दाबी छ । दुवै दलले आफू शक्तिशाली रहेको भन्दै पालिका प्रमुखमा दाबी गरेपछि तालमेलमा समस्या भएको हो । नेपाली काँग्रेस रोल्पाका सभापति किशोर आचार्यले यहाँ नेपाली काँग्रेस र माओवादी केन्द्रको मात्र पकड रहेकाले आफूहरु मित्रवत् रुपमा प्रतिस्पर्धामा उत्रने तयारी भएको बताए । यस्तै कपिलवस्तु र नवलपरासीका केही स्थानीय तहमा पनि गठबन्धन घटकबीच तालमेल नहुने भएको छ ।
यहाँ पनि धेरै ठाउँमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा हुने जनाइएको छ । खासगरी एमाले कमजोर भएको र गठबन्धनभित्रकै दलहरुको बलियो पकड रहेका पालिकामा गठबन्धन घटकबीच तालमेल बिना नै प्रतिस्पर्धा हुने भएको हो । सत्तारुढ ५ दलीय गठबन्धनभित्र पनि अर्को गठबन्धन गरेर कतिपय स्थानीय तहमा चुनावी प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ । खासगरी एमालेले नजित्ने ठाउँहरुमा नेपाली काँग्रेस, माओवादी, जसपाले यस्तो रणनीति ल्याएका छन् ।
प्युठानको झिमरुक गाउँपालिकामा माओवादी र काँग्रेसबीच तालमेल हुने भएको छ । यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा दुई दलमात्रै मिलेर लड्ने समझदारी गरेपछि यहाँ गठबन्धनभित्र अर्को गठबन्धन बनेको हो । पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई पन्छाएर दुई दलमात्रै मिलेर लड्ने समझदारी गरेका छन् । बाँकेमा पनि जसपाले पाँच दलीय गठबन्धनमा तालमेलका लागि इच्छा नगरेपछि गठबन्धनभित्रका अन्य दलले तालमेलको तयारी गरेका छन् । माओवादी केन्द्रका बाँके जिल्ला इन्चार्ज अक्कल बहादुर बमका अनुसार केन्द्रको नीति अनुसार सहमतिको प्रयास भए पनि केही ठाउँमा एक्लाएक्लै लड्ने तयारी भइरहेको छ ।
यस्तै कपिलवस्तु र नवलपरासीका केही ठाउँमा पनि गठबन्धनभित्रै दुई दलीय गठबन्धन हुने देखिएको छ । एमाले कमजोर भएका स्थानीय तहमा गठबन्धनभित्रका दलहरुले प्रमुख पदका लागि हानथाप गरेपछि गठबन्धन घटकबीच स्वच्छ प्रतिस्पर्धा गर्ने र केही पालिकामा दुई वा तीन दलीय तालमेलको तयारी भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर पुनले बताए ।








