गृहपृष्ठ Featured खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुरका उपमेयर उम्मेदवार पक्राउ

खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुरका उपमेयर उम्मेदवार पक्राउ

दाङ : तुलसीपुर उपमहानगरस्थित खुकुरी प्रहारको आरोपमा उपमेयरका एक उम्मेदवार पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएका ४६ वर्षीय सुशील गन्धर्वलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राति खुकुरी प्रहारबाट चार युवा घाइते भएको र उक्त घटनामा गन्धर्व संलग्न रहेको पाइएपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

घटनामा संलग्न गन्धर्वका छोरा २४ वर्षीय सुमन नेपाली पनि घाइते भएको र उनको बुटवलमा उपचार भइरहेको उनले बताए । अर्का छोरा २० वर्षीय सुदन नेपाली फरार रहेको र खोजी भइरहेको अर्यालले जानकारी दिए ।

गन्धर्वका तीन बाबुछोरा नै घटनामा संलग्न भएको देखिएको उनले बताए । स्थानीयको पूजामा नाँच हेर्न गएका युवाहरुलाई शुक्रबार राति खुकुरी प्रहार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट तुलसीपुर ४ का २८ वर्षीय कुलबहादुर ओली, २२ वर्षीय प्रेमप्रकाश खड्का, ३० वर्षीय चन्द्रबहादुर ओली र २८ वर्षीय रमेश खड्का घाइते भएका थिए।

दिउँसो निर्वाचनका क्रममा केही विवाद भएको र त्यही विषयलाई लिएर राति आक्रमण भएको प्रारम्भिक जानकारी प्राप्त भएको डीएसपी अर्यालले बताए । घाइतेमध्ये तीन जनाको नेपालगञ्जमा उपचार भइरहेको र एक जना तुलसीपुरबाटै डिस्चार्ज भइसकेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार