काभ्रे : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले अभिभावक संस्थाको रुपमा राजा रहने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय व्यवस्था हुनुपर्ने माग गरेको छ ।
धुलिखेलमा बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सुनाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्ण समानुपातिक संसद्, केन्द्र र बलियो स्थानीय तहसहित २ तहको संघीयता हुनुपर्ने पक्षमा राप्रपा रहेको बताए ।
स्थानीय तह निर्वाचनको समीक्षा गर्न आयोजित बैठकमा राप्रपाले सत्ताको दुरुपयोग, सत्ता पक्ष र प्रतिपक्षका दुई ठूला गठबन्धन र महाधिवेशनलगत्तै स्थानीय तहको निर्वाचन भएकाले निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको निष्कर्ष निकालेको छ । निर्वाचनपछि नयाँ शक्तिको रुपमा उदाएको दाबी गर्दै राप्रपाले निरुत्साहित हुनुपर्ने अवस्था नरहेको तर्क गरेको छ ।
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेदवारहरू समयमा छनोट गर्न उपयुक्त हुने ठहर गरी पार्टीभित्र र बाहिरबाट पनि राप्रपाका तर्फबाट उम्मेदवारीका लागि सार्वजनिक आह्वान गरिएको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








