गृहपृष्ठ Featured तुलसीपुरको कार्यपालिका बैठक : गठबन्धन र स्वतन्त्रले गरे बहिष्कार

तुलसीपुरको कार्यपालिका बैठक : गठबन्धन र स्वतन्त्रले गरे बहिष्कार

दाङ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक गठबन्धन र स्वतन्त्रहरुले बहिष्कार गरेका छन् । एकलौटी रुपमा निर्णय लाद्न खोजेपछि तुलसीपुरमा गठबन्धन र स्वतन्त्रले कार्यपालिका बैठक बहिष्कार गरेका हुन ।

विषयगत समिति गठन गर्ने क्रममा एकलौटी भएको भन्दै बिहीबार बिहान बसेको कार्यपालिका बैठक बहिष्कार वडा नं। १२ का अध्यक्ष खुसीराम चौधरीले बताए । ‘बैठकमा एकलौटी तरिकाले पार्टी कार्यालय जसरी उपमहानगरपालिका चलाउन खोजियो, विषयगत समितिमा एमालेका मात्रै भर्ती गर्न खोजेपछि हामीले कार्यपालिका बैठक बहिष्कार गरेका हौँ,’ उनले भने, ‘यदि यसरी नै एकलौटी भए हामीहरु आगामी दिनमा थप कडा तरिकाले प्रस्तुत हुन्छौँ ।’

तुलसीपुरको कार्यपालिकामा एमालेको बहुमत छ । मेयर र उपमेयरसहित २९ जना कार्यपालिका सदस्य रहेको तुलसीपुरमा एमालेका मात्रै १९ जना कार्यपालिका सदस्य छन् भने गठबन्धनबाट कांग्रेसका पाँच, माओवादी केन्द्रका तीन र स्वतन्त्रका एकजना रहेका छन् । बहुमत भएकाले पनि एमालेले कार्यपालिकामा बलमिच्याइँ गर्न खोजेको भन्दै उपमहानगरपालिकालाई पार्टी कार्यालय जसरी चलाउन नदिने कार्यपालिका सदस्य तथा वडा नं। ९ का अध्यक्ष घनश्याम ढकालले बताए ।

गठबन्धनलाई पाखा लगाएर आफूलाई मात्रै लेखा समितिको संयोजक बनाएको भए पनि आफूले त्यो जिम्मेवारी नैतिकताका हिसाबले नलिनेसमेत उनले बताए । १९ वटै वडालाई व्यवस्थित बनाउनका लागि सबै वडाध्यक्षहरूलाई समान रूपमा जिम्मेवारी दिनुपर्ने भए पनि एकलौटी जिम्मेवारी दिँदा त्यसले सबै वडाको भावनासमेत समेट्न नसक्ने स्वतन्त्रबाट निर्वाचित तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले बताए ।

सम्बन्धित् समाचार