कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले ठुलो आकारको बजेट सार्वजनिक गरेको छ । पहिलो कार्यकालमा हरेक बर्ष १ अर्ब २० करोडभित्रै बजेट प्रस्तुत गरेको बाणगंगाले यस पटक भने आगामी आर्थिक बर्ष २०७९/०८० को लागि करिब डेढ अर्बको बजेट प्रस्तुत गरेको हो ।
शुक्रबार एघारौं नगरसभामा नगर उपप्रमुख रिता थारुले करिब डेढ अरब अर्थात् १ अर्ब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।
आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोड बढी हो ।
विनियोजन विधेयक,२०७९ र आर्थिक विधेयक,२०७९ समेत पेश भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
बजेट सार्जजनिक कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख तथा पत्रकारको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।







