गृहपृष्ठ Featured रुकुमपूर्वमा अस्पतालको ओसिएमसीबाट ८९ जना हिंसापीडितलाई सहायता

रुकुमपूर्वमा अस्पतालको ओसिएमसीबाट ८९ जना हिंसापीडितलाई सहायता

रुकुम (पूर्व) : जिल्लास्थित अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मार्फत यो आर्थिक वर्षमा ८९ जना हिंसापीडितले सेवा लिएका छन्। जसमा बलात्कार घटनाका ४, यौन दुर्व्यवहारमा परेका ४, शारीरिक दुर्व्यवहार ५१, स्रोतसाधन र अधिकारबाट वञ्चित भएका ३, मानसिक दुर्व्यवहारमा परेका २२, बालविवाह र जबरजस्ती विवाहका ५ जना गरी ८९ जना पीडितले केन्द्रबाट सेवा लिएका हुुन्।

तीमध्ये हिंसापीडित ८० जना महिला र ९ जना पुरुषले केन्द्रबाट सेवा लिएका छन्। हिंसापीडितहरू ०–१४ वर्ष उमेर समूहका ८ जना, १५–१८ वर्ष उमेर समूहका १७ जना, १९–५९ वर्ष उमेरका ५३ जना, ५०–६० वर्ष उमेर समूहका ८ जना र ६० वर्षदेखि माथिको उमेर समूहका ३ जना रहेको केन्द्रका सम्पर्क व्यक्ति डिला भुसालले जानकारी दिइन्।

यस्ता छन् केन्द्रले दिने सेवा 

अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसामा शारीरिक चोटपटकको परीक्षण तथा उपचार, भावनात्मक आघात भएका हिंसापीडितलाई मनोसामाजिक परामर्श, सुरक्षित आवासका लागि समन्वय, सुरक्षाका लागि सुरक्षाकर्मीसँग समन्वय, कानुनी सहयोगका लागि न्यायिक समिति वा सरकारी वकिलसँग समन्वय, उपचार वा थप सेवाका लागि रेफरलगायत काम केन्द्रले गर्ने भुसालले बताइन्।

केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जिल्लाको लैङ्गिक हिंसासम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न तीनवटै स्थानीय तहसँग बजेट उपलब्ध गराउन माग राख्ने, विद्यालयमा किशोरकिशोरीलाई लैङ्गिक हिंसा र सेवासम्बन्ध जनचेतना कार्यक्रम सञ्चालन, लैङ्गिक हिंसाबारे काम गर्ने सम्पूर्ण सरोकारवालासँग बसेर कार्ययोजना तयार गरेर काम गर्न आवश्यक रहेको भुसालको भनाइ छ।

सम्बन्धित् समाचार