म्याग्दी — म्याग्दीको सदरमुकामस्थित एक वैकल्पिक विद्यालयबाट एसईई परीक्षामा सहभागी ६६ वर्षीया रेणुदेवी मल्ल १.८५ जीपीए, ५१ वर्षीया योगमाया गौतम १.५५ जीपीएसहित उत्तीर्ण भएका छन् ।
त्यसैगरी बेनीको प्रकाश माध्यामिक विद्यालय केन्द्रबाट एसईई परीक्षामा सामेल आमा-छोरा उत्तीर्ण भएका छन् । उज्यालो वैकल्पिक विद्यालयबाट सहभागी ४४ वर्षीया आमा दिलशोभा पुनले २.१० जीपीए र वेस्टपोइन्ट आम्विका छोरा प्रीतम पुन ३.६० जीपीएसहित उत्तीर्ण भए ।
यस वर्षको एसईई परीक्षामा बेनीको लिटल गार्डेन एकेडेमीका बल्बु शाह र सोही विद्यालयका उत्सव सापकोटाले ३.९५ जीपीए अंकसहित जिल्ला प्रथम भए । साह बेनीमा व्यापार गरी बस्ने भारतीय हुन् ।
त्यसैगरी जिल्लाको सामुदायिक विद्यालयतर्फ बेनीको प्रकाश माध्यमिक विद्यालयका प्रेम श्रेष्ठले ३.९० जीपीएसहित पहिलो भए । छात्रातर्फ प्रकाश माविकी प्रकृति सुवेदीले ३.८५ जीपीएसहित जिल्ला प्रथम भइन् ।







