गृहपृष्ठ Featured बारीभरि लटरम्म स्याउ फल्दा दंग !

बारीभरि लटरम्म स्याउ फल्दा दंग !

मुगुको छायानाथरारा–४ का हरि रोकाया यो वर्ष बारीभरि लटरम्म स्याउ फल्दा दंग छन् । ‘कहिले स्याउको फूल नलाग्दै असिनापानी परेर नष्ट गर्ने त कहिले पाक्नै लागेको स्याउ झारिदिने समस्याबाट आजित थियौं,’ उनले भने, ‘यो वर्ष त हाम्रा लागि सुबिकाल आयो, बारीभरि फलेका स्याउले बोट नै निहुरिएका छन् ।’

बारीमा झन्डै ३ सय बोटमा लटरम्म स्याउ फलेपछि राम्रो आम्दानी हुने भन्दै उनी दंग परेका हुन् । उनका छिमेकी बाँचे महताराको स्याउबारी पनि मनमोहक देखिएको छ । ‘यो वर्ष स्याउले भुइँ छोयो,’ उनले भने, ‘भाउको समस्या नभए स्याउकै आम्दानीले परिवारको वर्षभरिको खर्च टर्छ ।’ उनको बारीमा झन्डै डेढ सय बोटमा लटरम्म स्याउ फलेको छ ।

अहिले रारा विमानस्थल आसपासका झन्डै २ सय किसानका बारीमा स्याउका बोटहरू दानाले झुलेका छन् । बारीभरि स्याउ फलेपछि रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको बारीमा आएर फोटो खिच्ने घुइँचो लाग्न थालेको छ । ताल्च, मैतु, कालापाल्त, गिमखोला, लामाचौर, मुर्मा, स्याउ, कोटिला, घट्टलेख, तल्लेख, ल्वारपोल्नालगायत बस्तीका किसानको बारीमा यो वर्ष अत्यधिक स्याउ फलेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अनुकूल वर्षा, व्यवस्थित गोडमेल र असिनापानी नपर्दा यो वर्ष मुगुमा स्याउको उत्पादन राम्रो भएको कृषि प्राविधिकहरूको भनाइ छ । धेरै वर्षपछि बारीमा अत्यधिक स्याउ फल्दा वर्षौदेखि स्याउ खेती गर्दाको दुःख भुलेको बामगाउँका किसान तिल बुढाले बताए । ‘पहिले स्याउ बेच्न पनि गाह्रो थियो, भाउ पनि कम,’ उनले भने, ‘अहिले गाउँमै सडक पुगेपछि व्यापारी गाडी लिएरै बगैंचामा आउने गरेका छन् ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब ३ हजार हेक्टरमा स्याउ खेती भइरहेको छ । गत वर्ष करिब ३५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयको तथ्यांक छ । यो वर्ष गत वर्षभन्दा करिब डेढ गुणा स्याउ फल्ने अनुमान गरिएको कार्यालयका प्रमुख खेमबहादुर शाहीले बताए ।

सम्बन्धित् समाचार