गृहपृष्ठ Featured बुटवलमा २ अर्ब लागतको थोक कृषि बजार बन्ने

बुटवलमा २ अर्ब लागतको थोक कृषि बजार बन्ने

बुटवल : बुटवलको सेमलारमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा आधुनिक थोक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ ।

नेदरल्याण्ड्स सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढेको हो ।

नेपाल सरकारले नेदरल्याण्ड्स सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनको लागि अनुदान सम्झौता भएको थियो ।

तीन वर्षअघिदेखि थोक बजार बनाउने पहल भए पनि जग्गा प्राप्ति नहुँदा आयोजना अन्योलमा थियो । बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त स्थानमा नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा कृषि बजार स्थापनाका लागि सहमति जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो जग्गा विपद्का लागि प्रयोग नहुने र जोखिमपूर्ण स्थानमा नरहेकोले सिफारिस गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

स्थानीयको सहमतिपश्चात् बुटवल उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव लगेको थियो ।

सम्बन्धित् समाचार