गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्री केसी भन्छन्– ‘प्रदेशको नामकरण र राजधानी तोक्न ठुलो संघर्ष गरेँ’

लुम्बिनीका मुख्यमन्त्री केसी भन्छन्– ‘प्रदेशको नामकरण र राजधानी तोक्न ठुलो संघर्ष गरेँ’

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र राजधानी तोक्ने कार्यमा आफूले ठुलो संघर्ष गरेको बताएका छन् ।

उनले राप्ती उपत्यकालाई राजधानी घोषणा गरेपनि सार्ने काम नभएकाले आफू मुख्यमन्त्री बनेसँगै पहिलो एजेन्डा नै यही बोकेको बताए ।

दाङको राप्तीमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री केसीले राजधानीका कामहरू आफ्नै कार्यकालमा राप्तीबाट हुने व्यवस्थापन गरेको बताए ।

उनले भने, “राजधानी तोक्ने बेलादेखि नै निकै संघर्ष गरेको हो । मेरै कार्यकाल भित्रै राजधानीका सम्पूर्ण कामहरू यहीँबाट नै हुनेगरी काम भइरहेको छ ।”

उनले आफ्नो पहिलो गौरवको आयोजनामध्ये लुम्बिनी प्रदेशको राजधानी निर्माण भएको बताउँदै त्यसका लागि जस्तोसुकै चुनौती मोलेर भएपनि राजधानी स्थापित गरेर नै छाड्ने बताए ।

“सदनमा ठुलो संख्या राप्ती उपत्यकाको विपक्षमा नै थियो । हामीलाई निकै कठिन थियो तर पनि तत्कालीन मुख्यमन्त्री र म कानुनमन्त्री भएकाले मात्रै सम्भव भएको हो । यो पारित गर्नका लागि निकै चुनौती थियो तर हामीले गरेको यो एउटा नयाँ कार्य हो ।”

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि यहाँका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सबैले सहयोग गरेर आफ्नो राजधानीको सपना पूरा गर्ने कार्यमा लाग्नका लागि सबैलाई निर्देशन दिए ।

सम्बन्धित् समाचार