काठमाडौं, असोज ८ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न कार्यदल गठन गरेको छ। लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको हो।
कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन्।
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ। नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त्यसले चुनावी तालमेलमा असर नगर्ने लोसपाका वरिष्ठ नेता महतोले बताए।
नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने उनको तर्क छ। लोसपाका वरिष्ठ नेता महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे।









