काठमाडौं । लियोनल मेसीले दुई मिनेटको अन्तरालमा दुई गोल गरेको खेलमा अर्जेन्टिनाले बुधबार बिहान मैत्रीपूर्ण खेलमा जमैकालाई ३–० ले हराएको छ ।
अमेरिकाको न्यु जर्सीस्थित रेडबुल एरिनामा अर्जेन्टिनाले १३औँ मिनेटमा युलियन अल्भारेजको गोलबाट अग्रता लिएको थियो । ८७औँ मिनेटमा मेसीले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै मेसीले अर्को गोल थपेपछि अर्जेन्टिनाले सहज विजय हासिल गर्यो ।
जितसँगै फिफा विश्वकपअघि अर्जेन्टिनाले अपराजित यात्रालाई ३५ खेलसम्म कायम राखेको छ । योसँगै अर्जेन्टिनाले विश्वकपमा आफ्नो दावेदारी पेस गरेको छ । यद्यपि, अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपका लागि अझै धेरै सुधार आवश्यक रहेको बताएका छन् ।
‘‘कसैले विश्वकपमा सहज हुन्छ भनेर सोचेको छ भने त्यो गलत हो । विश्वकपका लागि अझै धेरै काम गर्न बाँकी छ । सकेसम्म हामी त्यो कमजोरीमा सुधार गर्ने प्रयास गर्नेछौँ,’’ अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘‘आजको खेल धेरै कठिन थियो । उनीहरू शारीरिक रूपमा धेरै बलिया थिए । उनीहरूले दोस्रो हाफमा राम्रो गरे ।’’








