गृहपृष्ठ Featured रेसुंगाको काखमा निर्माण भइरहेको गर्जुरा पार्क चिटिक्क बन्दै

रेसुंगाको काखमा निर्माण भइरहेको गर्जुरा पार्क चिटिक्क बन्दै

रेसुंगाको काखमा निर्माण भइरहेको गर्जुरा पार्क चिटिक्क बन्न थालेको छ। ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको पार्कभित्र भ्यु टावर, फोटोग्राफी जोन, बालबालिकाका लागि प्ले जोन, पिकनिक स्पट, शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी निर्माण भइसकेका छन्।

पाँच करोड ५९ लाख ५३ हजार रुपैयाँ लागतमा धुलिखेल–अर्जुन–न्यू लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरिरहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत साझेदारीमा पार्क निर्माण थालिएको हो। गर्जुुरा पार्कले धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले सम्पन्न रेसुंगाको सौन्दर्य झनै बढाउने अपेक्षा गरिएको छ।

रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमका अनुसार अब अब भीर पिङ, दूरबिन र पार्क आइकनसहितका केहि काम मात्र बाँकी छ। सम्झौताअनुसार निर्माण व्यावसायीले ६८ प्रतिशत भौतिक प्रगती गरिसकेका छन्। तर, बित्तिय प्रगती भने निकै कम अर्थात ३३ प्रतिशत रहेको रेसुंगा नगरपालिकाका इन्जिनीयर कृष्ण कोइरालाले जानकारी दिए।

 

उनका अनुसार केन्द्रबाट रकम नै आएको छैन। यसै वर्षको फागुन मसान्तसम्म पार्क निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ। समयमै निर्माण व्यवसायीलाई कामअनुसारको रकम भुक्तानी गरे तोकिएकै समयमा पार्कको काम पूरा हुने उनले बताए।

सम्बन्धित् समाचार