गृहपृष्ठ Featured कपिलवस्तु : प्रतिनिधिसभातर्फ ५१ जना र प्रदेशसभा सदस्यतर्फ ९५ जना उम्मेदवार

कपिलवस्तु : प्रतिनिधिसभातर्फ ५१ जना र प्रदेशसभा सदस्यतर्फ ९५ जना उम्मेदवार

कपिलवस्तु ।

कपिलवस्तुका ३ प्रतिनिधि सभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ ५१ जना र प्रदेशसभा सदस्यतर्फ ९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

कपिलवस्तु- १ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट बलराम अधिकारीको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनले पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ। यता राप्रपाले केन्द्रिय सदस्य ध्रुब रायमाझिलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

यस क्षेत्रको प्रदेशसभा– ‘क’ तर्फ सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका डोलकराम घिमिरेले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेले विष्णु पन्थीलाई उम्मेदवार बनाएको छ। पन्थी निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुन्।

यस क्षेत्रको प्रदेशसभा– ‘ख’ तर्फ माओवादी, काङ्ग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ। यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी काङ्ग्रेसमा आएर टिकट पाएका हुन्।

यहाँ एमालेले मधुसूदनशरण चौधरीलाई उम्मेदवार उठाएको छ।

प्रतिनिधि सभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यहाँ सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेले वृजेश कुमार गुप्तालाई उठाएको छ। प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेपाल प्रहरीका पूर्व (एसएसपी) विक्रमसिंह थापाले मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेबाट नवराज लामिछानेले टिकट पाएका हुन्।

प्रदेशसभा–२ मा सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ। एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ।

प्रतिनिधिसभा–३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनबाट काङ्ग्रेसका अभिषेकप्रताप शाहले मनोनयन दर्ता गराएका छन्। एमालेले मंगलप्रसाद गुप्तालाई उठाएको छ। प्रदेशसभा–१ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका एहसान खानलाई उम्मेदवार बनाएको छ।

एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ। केसी यसै क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य हुन। प्रदेशसभा–२ मा सत्ता गठबन्धनबाट वीरेन्द्र कनौडियाले मनोनयन दर्ता गराउँदा एमालेबाट रजाउर्मान खाँले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

सम्बन्धित् समाचार