बुटवल ।
सबै नागरिकलाई नि:शुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित रुपन्देही- २ मा सत्ता गठबन्धन दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता र समावेशिता, भौतिक पूर्वधार, कृषि तथा वातावरण विकासका खाकासहित रुपन्देही २ (२) लाई लक्षीतगरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रुपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने उल्लेख छ ।
जनस्वास्थ्यतर्फ ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई नि:शुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने, तामनगरमा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ ।








