गृहपृष्ठ Featured अर्घाखाँचीमा स्थानीयले उम्मेदवारलाई गराए प्रतिबद्धतापत्रमा हस्ताक्षर

अर्घाखाँचीमा स्थानीयले उम्मेदवारलाई गराए प्रतिबद्धतापत्रमा हस्ताक्षर

अर्घाखाँची ।

अर्घाखाँचीको ठूलापोखराका स्थानीयले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई आफ्ना मागबारे प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएका छन् । छत्रदेव गाउँपालिका–६ ठूलापोखरामा मंगलबार मत माग्न पुगेकी निवर्तमान उपसभामुख एवं कांग्रेस उम्मेदवार पुष्पा भुसाल गौतम र प्रदेशसभा (१) का उम्मेदवार राष्ट्रिय जनमोर्चाका सागर केसीलाई झन्डै १ सयभन्दा बढी मतदाताले प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएका हुन् ।

ठूलापोखराको विकास योजनाका १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने भनेपछि उनीहरूले हस्ताक्षर गरेको बताए । भोट माग्न उम्मेदवार भेट्न आउने भनेपछि ठूलापोखरामा स्थानीयले सोमबार नै गाउँ भेला गरेरै विकासका योजना बनाएका हुन् । उनीहरूको दस बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नति गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिंचाइ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन् । त्यस्तै कोकलचारे–सेट्टारी सिंचाइ योजना, दुग्दी–सालबोट–बलीफाँट सिंचाइ योजना, गुठी–अरटारी–फुल्ली र सानीखोली–तौवाखोला सिंचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुसाल र केसीले जनाए ।

छत्रदेव–६ का कांग्रेस वडा सभापति धनिश्वर पाण्डेले गाउँलेको छलफलपछि तयार पारिएको सम्झौता पत्र उपस्थित मतदातामाझ उम्मेदवारलाई अगाडि राखेर पढेर सुनाएका थिए ।

त्यसपछि यी काम गर्नुहुन्छ कि हुन्न भनी प्रश्न सोधिएको थियो । उम्मेदवार भुसाल र केसीले तीन तहको सरकारको समन्वयमा सबै माग पूरा गरिदिन्छौं भनेर आश्वासनसहित हस्ताक्षर गरेर भोट मागे । ‘यसअघिका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई पनि मौखिक रूपमा यिनै माग राखेका थियौं, जितेपछि सांसदले काम गरिदिएनन्,’ पाण्डेले भने, ‘आफ्नै पार्टीका उम्मेदवार भए पनि मौखिक आश्वासनमा विश्वास नलागेपछि लिखित प्रतिबद्धता गर्न भनेका हौं ।’ सबै उम्मेदवारलाई लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने ठूलापोखराका एक स्थानीयले बताए ।

सम्बन्धित् समाचार