रुपन्देही जिल्लामा धमाधम पाँचतारे होटेल थपिइरहेका छन् । ०८० सालभित्र रुपन्देहीमा पाँचतारे होटेलको संख्या सात पुग्ने भएको छ । अहिले रुपन्देहीमा दुईवटा पाँचतारे ‘टाइगर वान’ र ‘पवन प्यालेस’ सञ्चालनमा छन् । बुटवल र भैरहवामा पाँचवटा होटेल निर्माणको अन्तिम चरणमा रहेका छन् ।
बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले सञ्चालनमा ल्याएको टाइगर वान रुपन्देहीकै पहिलो पाँचतारे होटेल हो । यस्तै, भैरहवाकै व्यवसायी पवनकुमार हलुवाईले भैरहवा–लुम्बिनी रोडमा पवन प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।
एक सय ४६ कोठाको पवन प्यालेसले निकट भविष्यमै पर्यटन विभागबाट पाँच तारा लिन लागेको सञ्चालक हलुवाईले बताए । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा साढे दुई अर्ब हाराहारी लगानी भइसकेको छ ।








