गृहपृष्ठ कला/साहित्य प्रश्न:- स्वर्ग कहाँ छ ?

प्रश्न:- स्वर्ग कहाँ छ ?

प्रकाशित मिति:

प्रश्न:- स्वर्ग कहाँ छ ?

उत्तर:-विदाको दिन थियो । म गोरु चराउन वनमा गएको थिएँ । चर्दाचर्दै गोरु अलिक टाढा पुगे । म पनि गोरुको पछि लाग्दै गएँ ।

पर पुगेपछि गोरु चर्न थालेको देखेँ । म पनि सालको रुखमुनि बसेँ । र, सङ्गै लगेको सामान्यज्ञानको किताब पढ्न थालेँ ।

म पुस्तकमा ध्यानस्थ भएँ ।

रुखबाट एउटा पात खस्यो । उक्त पात मेरो शिरमा बज्रिन आइपुग्यो । म झसङ्ग भएँ । गोरु हेरेँ । कतै देखिनँ ।

अहो ! गोरु कता गए भन्ने ध्याउन्न छुट्यो । कसैको धान खान पुगेको भए मार्छन् भन्ने डर पनि लाग्यो ।

गोरु खोज्दै गएँ, तर कतै पनि देखिनँ ।

खोज्दाखोज्दै निकै टाढासम्म पुगेँ । तर पनि गोरु भेटिएनन् । कोइरालको रुखमा चढेर हेरेँ । गोरु देखिएनन्, बरु पर एउटा ओडार  देखेँ ।

कतै गोरु त्यही ओडारतिर पो पसे कि भन्ने ठानी म पनि त्यही ओडारतिरको बाटो तताएँ ।

म त्यस ओडारमा कहिल्यै पुगेको थिइनँ । ओडार अँध्यारो देखिन्थ्यो । गोरु कतै यही ओडारमा छिरेका छन् कि भनेर डर लागीलागी भित्र गएँ ।

भित्र पस्ने बित्तिकै म हराएँ ।

………………………………

जब ओडारमा पग राखेँ, तब म त्यहींभित्र विलीन भएँ, कालो छिद्र (Black Hole) मा विलीन भएको आकाशीय पिण्ड जस्तै । त्यसपछि मलाई के भयो, तनिक पनि याद भएन ।

त्यहाँबाट गायब हुने बित्तिकै म एउटा वनमा पुगेँ । जहाँ अग्लाअग्ला रुख, रुखका ठूलाठूला पात, घाँसका बोट नै मभन्दा अग्ला थिए । त्यो वनमा मेरो आकार कमिलाको जस्तै थियो । म कुन दुनियाँमा पुगेको थिएँ, अलिकति पनि मेसो पाउन सकिनँ । त्यहाँका किरा अनि फट्याङ्ग्रा पनि निकै भीमकाय देखिन्थे । म छक्कै परेँ, त्यहाँका कमिलाको आकार यहाँका हात्तीको जत्रो थियो । कमिलाको सापेक्षमा मेरो आकार तिलको डल्लो जत्तिकै हुँदो हो ।

निकै आश्चर्यचकित हुँदै म परपर गएँ ।

पर पुगेपछि कसैले ‘ॐ’ को उच्चारण गर्दै गरेको सुनें ।

त्यसै बखत,

“ॐ त्रेयम्बकं यजामहे सुगन्धिं पुष्टिबर्धनम् ।उर्वारुकमिव् बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।।”

भन्दै महामृत्युञ्जय मन्त्रको जप गर्दै गरेको सुनेँ ।

सोचें, यो पक्कै ॠषिमुनिहरूको आध्यात्मिक तपोवन हुनुपर्छ; यहाँ ॠषिहरूले ध्यान गर्दै गरेका होलान् ।

म त्यही आवाजलाई पछ्याउँदै केही पर पुगेँ । त्यहाँ एउटा कुटी वा ऋषिआश्रम देखेँ । म त्यतैतिर लागेँ ।

जब आश्रमतिर पाइला बढाउँदै लगेँ, ममा आध्यात्मिक वातावरणको प्रभाव बढ्दै गएको अनुभूति गरेँ ।

जब कुटीको समीपमै पुगेँ, तब एउटी स्त्रीले ध्यान गर्दै गरेको देखेँ । ऋषिहरूले ध्यान र तपस्या गरेको निकै सुनेको थिएँ, तर नारीहरूले ध्यान गरेको कमै सुनेको थिएँ ।

यस्तो निर्जन वनमा एक्लै ध्यानस्थ भएर बस्ने को होलिन् भन्ने कौतुहलता प्रादुर्भाव भयो मनमा ।

नजिकै गएर हेरें, गेरु वस्त्र धारण गरेर ध्यानस्थ देवी जस्तै लाग्ने नारीलाई देखेँ ।

सुनेको थिएँ, ध्यानमा लीन भएका व्यक्तिहरूको ध्यान भङ्ग गरिदिनु हुँदैन । त्यसैले उनलाई ध्यानबाट उठाउने दुष्प्रयास गर्न चाहिनँ । र, त्यहाँबाट फर्किएर पर जान थालेँ ।

“पर्ख वत्स ।” पछाडिबाट एक्कासी आवाज आयो । म झसङ्गिएँ । फर्केर हेरेँ, उनका आँखा खोलिएका थिएनन् । फेरि सोचें, म यहाँ आएको उनले कसरी थाहा पाइन् जब कि आफ्ना नयन खोलेकी नै छैनन् ?

म फर्केर आफ्ना पग उनैतिर डोर्‍याएँ ।

“मेरै इच्छा बमोजिम तिमी यहाँ आएका हौ। फर्कन हतार नगर वत्स ।” उनले आँखा नखोलीकन नै आफ्नो मुख खोलिन् । म झन् छक्क परें । अनि सोचें, यिनी पक्कै कुनै मायावी हुनुपर्छ, जसले नेत्र नखोलीकन नै मेरो बारे बताइरहेछिन् ।

“मेरो सान्निध्यमा आऊ वत्स ।” उनले आफ्नो नजिकतिर आऊ भनिन् । म डरैडरै गएँ ।

जब म उनको नजिकै गएँ, उनका आँखा खोलिए । ती आँखाबाट अचानक दैवी शक्ति निस्कियो र ममा समाहित भयो ।

जब ममा दैवीशक्ति सञ्चार भयो, तब ब्रह्मज्ञान पाएँ । दिव्यदृष्टि पाएँ ।

तब बल्ल वहाँलाई चिनेँ । वहाँ त साक्षात माता “वैष्णवीदेवी” हुनुहुँदो रहेछ ।

मलाई बल्ल ज्ञात भयो, म त त्रेतायुगमा पो पुगेको रहेछु । त्रेतायुगमा कसरी पुगेँ, सोच्नतर्फ लागिनंँ । यसलाई ईश्वरको लीला सम्झेर आनन्द लिएँ ।

……………

“प्रणाम माता !” शिर निहुर्‍याएर मातालाई प्रणाम गरेँ ।

“आयुष्मान भव ! तेजस्वी भव ! ज्ञानी भव वत्स ।” माताले मलाई आशीर्वादको श्रीपेच लगाइदिनुभयो । म धन्य भएँ ।

माताको साक्षात दर्शन पाएर आफ्नो जीवन धन्य भएको तथ्य प्रकट गरेँ । माता मुस्कुराउनुभयो ।

माता: “वत्स ! तिम्रो भक्तिबाट म प्रशन्न भएकी छु । माग, के वर चाहन्छौं ?”

म:- “माता ! जब स्वयं हजुर मेरो समीपमा उपस्थित हुनुहुन्छ भने मेरो लागि योभन्दा ठूलो वर अरू के हुनसक्छ र ! हजुरको साक्षात दर्शन नै मेरो लागि अनुपम वर हो माता ।” आफ्नो विनम्रता माताको काखमा अर्पण गरेँ ।

माताले दिव्य मुस्कान छर्नुभयो ।

म:-“माता ! बरु मेरो मनमा उब्जिएको एउटा प्रश्न निवारण गरिदिनुभयो भने आभारी हुने थिएँ ।”

माता:-“कस्तो प्रश्न वत्स ? निसंकोच सोध ।”

म:-“माता ! वास्तवमा स्वर्ग कहाँ छ? यो मृत्युलोकमा स्वर्गीय जीवन बिताउन सम्भव छ माता ?”

माता:-“सम्भव छ वत्स । तिमी स्वयंले पनि स्वर्गीय जीवनको अनुभूति लिइसकेका छौ वत्स ।”

माताको कुरा सुनेर म झसङ्गिएँ । सधैं दु:खानुभूति गरेको सम्झने मलाई माताले स्वर्गीय जीवनको अनुभूति लिएका छौ भन्दा छक्कै परें ।

म:-“कसरी माता ?” आश्चर्यजनक अनुहार मातातिर तेर्स्याएँ ।

माता:-“वत्स ! स्वर्ग त्यो होइन, जहाँ सदैव सुखैसुख होस् । स्वर्ग त्यहाँ छ जहाँ केही पाउनु पनि छैन र केही गुमाउनु पनि छैन । अर्थात् न त प्राप्तिको अभिलाषा छ, न त गुम्ने भय छ, त्यस्तो स्थान नै स्वर्ग हो वत्स ।”

माताको कुरा मेरो बोधो मस्तिष्कले भेउ पाएन । कताकता विरोधाभास पनि प्रतीत भयो ।

म:-“त्यस्तो स्थान कहाँ छ माता?”

माता:-“आमाको गर्भ । हरेक मनुष्यले आमाको गर्भमा स्वर्गीय जीवन बिताएर यस मृत्युलोकमा पदार्पण गरेको हुन्छ वत्स ।”

म:-“आमाको गर्भ नै स्वर्ग हो भन्नुभयो माता ! यसलाई पुष्टि गरिदिनुहोस् न ।”

माता:-“वत्स ! जब तिमी आमाको गर्भमा थियौ, तिमीलाई कुनै कुराको चिन्ता थिएन । दु:ख थिएन ।

तिमी स्वयंले केही खानु पर्दैनथ्यो; आमाले खाइदिए पुग्थ्यो ।

तिमी स्वयंले श्वाससमेत फेर्नुपर्दैनथ्यो; आमाले फेरिदिए पुग्थ्यो । तिमीले पानी प्यून पर्दैनथ्यो; आमाले पिइदिए पुग्थ्यो ।

तिमीलाई न त गर्मीको प्रवाह हुन्थ्यो, न त जाडोको चिन्ता, उपयुक्त तापमानमा बस्न पाएका थियौ ।

न त कपडा लगाउनुपर्दथ्यो, न त जुत्ताचप्पल ।

न त स्वास्थ्यको चिन्ता हुन्थ्यो, न त खानपानको चिन्ता ।

न त तिमीलाई पढ्नुपर्थ्यो, न त आफ्ना सन्तानलाई पढाउनुपर्थ्यो ।

न त विहान के खाऊँ, न त बेलुका के खाऊँ भन्ने चिन्ता हुन्थ्यो ।

न त धन आर्जन गर्नुपर्थ्यो, न त विद्या ग्रहण गर्नुपर्थ्यो ।

न त तिमीलाई कोठाभाडा कसरी तिरौं भन्ने चिन्ता हुन्थ्यो, न त ग्यास सिद्धिएको चिन्ता, न त चामलका बोरा रित्तिएको चिन्ता ।

न त कसैलाई पाउने अभिलाषा, न त कसैलाई गुमाउने भय-चिन्ता ।

न त कामको चिन्ता, न त जागिर वा पेशाको चिन्ता । न त कानूनको भय, न त नैतिकता ह्रास हुने डर ।

न त श्रीमतीको चिन्ता, न त लालाबालाको चिन्ता ।

न त आफ्नो भविष्यको चिन्ता, न परिवारको चिन्ता, न समाजको चिन्ता, न त देशको चिन्ता र न सारा विश्वको चिन्ता ।

वत्स ! आमाको गर्भमा हुँदासम्म तिमीलाई न त केही पाउनु थियो, न त केही गुमाउनु थियो । अत: आमाको गर्भको ९ महिने समय  तिम्रो लागि स्वर्गीय थियो ।”

म:-“दिव्यज्ञान प्रदान गर्नुभयो माता ! मैले त स्वर्ग भनेर यस मृत्युलोकभन्दा परको संसारलाई बुझिरहेको थिएँ । आज हजुरले मेरा भ्रमित नेत्र खोलिदिनुभयो माता ! हजुर धन्य हुनुहुन्छ ।”

माता:-“वत्स ! जब मनुष्य यस मृत्युलोकमा आउँछ, जब ऊ स्वर्गीय जीवनबाट वञ्चित हुन्छ । तर उसको अवचेतनले उक्त स्वर्गीय जीवनको वासना उसको मृत्यु नहुन्जेलसम्म झक्झकाइरहन्छ । स्वर्गीय जीवनको छाप उसको अवचेतनमा टाँसिएर अक्षुण्ण भई बस्दछ । त्यही अवचेतनको निर्देशनानुसार मनुष्य आजीवन स्वर्गीय जीवनको खोजीमा भौंतारिरहन्छ । तर उसले यो मृत्युलोकमा कहिल्यै त्यस्तो जीवन पाउन सक्दैन ।

यस मृत्युलोकमा उसले जति धन, सम्पत्ति, यश, कीर्ति, नाम र शक्ति प्राप्त गरेपनि मनुष्य कहिल्यै सुखी र खुसी बन्न सक्दैन ।

त्यसैले वत्स !

मनुष्य रुँदै जन्मन्छ; स्वर्गीय जीवनबाट अलग्गिनु परेकोमा,

गुनासो गर्दै बाँच्छ; स्वर्गीय जीवन प्राप्त गर्न असम्भव भएको देखेर, र

निराश हुँदै मर्छ; मृत्युलोकमा स्वर्गीय जीवन प्राप्त गर्ने स्वप्न चिताग्निसङ्गै जलेर भस्म हुन्छ ।”

मृत्युलोकीय जीवनमा मनुष्य किन कहिल्यै सुखी र खुसी हुन सक्दैन भन्ने दिव्यज्ञान माताले मलाई प्रदान गर्नुभयो । तत्पश्चात् जीवनमा उपरान्त बडो महत्त्वाकांक्षी नहुने, जीवनप्रति गुनासो नगर्ने र दु:खी नहुने प्रण गरेँ, मातालाई साक्षी राखेर ।

अन्तमा माताले भन्नुभयो,

“वत्स ! अब तिमी जाऊ ! तिम्रा वस्तुभाउले तिमीलाई कुरिरहेका छन् ।”

म मातालाई प्रणाम गर्दै त्यहाँबाट फर्किएँ ।

नाम:- कवीन्द्र लम्साल ‘कप्रल’

ठेगाना:- इश्मा गाउँपालिका-५, गुल्मी

हाल:- काठमाडौं ।

 

सम्बन्धित् समाचार