गृहपृष्ठ खबर तीन वर्षभित्र सम्पदा पुनः निर्माण

तीन वर्षभित्र सम्पदा पुनः निर्माण

प्रकाशित मिति:

काठमाडौँ । सरकारले काठमाडौँको काष्ठमण्डप, रानीपोखरी, धरहरालगायतका महत्वपूर्ण सम्पदाको पुनःनिर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने अठोट व्यक्त गरेको छ ।

आज संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कीर्तिपुरस्थित जातीय संग्रहालयलाई नेपालको परम्परा, भाषा, संस्कृति, रीतिरिवाज र रहनसहन झल्काउने गरी राष्ट्रिय सांस्कृतिक संग्रहालयका रुपमा विकास गर्ने नीति लिएको बताए ।

लोपोन्मुख भाषा, धर्म तथा संस्कृतिको संरक्षण गर्ने तथा राष्ट्रिय सांस्कृतिक संग्रहालयको विकासका लागि पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

मन्त्री खतिवडाले समान प्रकृतिका संग्रहालयलाई एकीकृत गरी राष्ट्रिय संग्रहालयमा रुपान्तरण गरिने बताउँदै नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र अन्य सांस्कृतिक प्रतिष्ठानलाई एकआपसमा गाभी एउटै प्रभावकारी संस्था बनाइने उल्लेख गरे।

बजेट वक्तव्यमा स्रष्टाको सिर्जनाको उचित कदर गर्न प्रतिलिपि अधिकार संरक्षणका लागि कानूनी तथा व्यवस्थापकीय सुधार गरिने उल्लेख छ । पशुपति क्षेत्र तथा लुम्बिनी क्षेत्रको निर्माण सम्पन्न गर्न, जनकपुरको जानकी मन्दिर संरक्षण गर्न र लिच्छवीकालीन ललितकलाको विश्वविख्यात नमूना कैलाशकुट भवनको अध्ययन तथा उत्खनन गर्न बजेटको व्यवस्था गरिएको मन्त्री खतिवडाले बताए । रासस

सम्बन्धित् समाचार