नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई ‘जमघट’ मात्र बनाउने प्रयास भएको छ । ७५ जिल्ला सभापतिको भेलामा ७७ जिल्लाका अगुवा नेता कार्यकर्ता भेला भएका छन् तर, सभापति भेलाको औपचारिक सत्र भने अझैसम्म सुरु भएको छैन ।
उदघाटन समारोहमै प्रष्ट दुई गुट देखिएपछि त्यसको प्रभाव बन्द सत्रमा हुने डरले संस्थापन पक्षले जिल्ला सभापतिहरुलाई राजनीतिक विषयमा छलफल गर्नबाटै बन्चित गर्न खोजेको आरोप रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले लगाएको छ ।कांग्रेसका ७५ जिल्ला सभापतिमध्ये संस्थापन पक्ष र पौडेल सिटौला पक्षका कित्ताकाट भएका छन् । कांग्रेस स्रोतका अनुसार पौडेल र सिटौलाका साथै अर्जुन नरसिंह केसी पनि मिलेपछि देउवा विरोधी खेमाका जिल्ला सभापतिको बहुमत छ ।जिल्ला सभापति भेलामा चुनावी हारको समीक्षा हुनुपर्नेमा संस्थापन पक्षले प्राविधिक छलफल गराउन खोजेको आरोप लागेको छ । चुनावी समिक्षा हुँदा सभापति देउवाको चर्को आलोचना हुने भएकाले बिधान संशोधन र प्रदेश तथा स्थानीय तहका कमिटी संरचना कस्तो बनाउने भन्ने सुझाव मागेर भेला अन्त्य गर्ने तयारी छ ।पौडल सिटौला पक्षले भने स्थानीय तह र प्रदेश कमिटी अधिवेशनबाट नयाँ नेतृत्व आउन दिनुपर्ने बताएको छ । त्यसो गर्दा पार्टीका तल्लो तहसम्मका कार्यकर्ता चलायमान हुने र लोकतान्त्रिक पद्धति बलियो हुने पौडेल सिटौला पक्षको दावी छ । तर संस्थापन पक्ष भने पछिल्लो पटक लगातार भातृ संगठनमा भएको पराजयबाट तर्सिएर प्रदेश र स्थानीय तहमा अधिवेशन गराउन चाहदैन ।मुलुक संघीयताको अभ्यासमा गए पनि कांग्रेसले संघीय संरचना बनाएको छैन । जिल्ला सभापतिको भेलाबाट सुझावका रुपमा म्याण्डेट लिएर प्रदेश र स्थानीय तहमा १४ औं महाधिवेशनसम्मका लागि कामचलाउ कमिटी मनोनित गर्ने तयारी संस्थापन पक्षको छ ।