२५ असार, काठमाडौं
मदन पुरस्कार गुठीले २०७४ सालका लागि आठ वटा पुस्तकको सूची सार्वजनिक गरेको छ ,गुठीलाई प्राप्त भएका कूल २५३ वटा पुस्तकबाट आठवटा पुस्तक छनोटमा परेका हुन् ।
छनोटमा परेका यी आठ पुस्तकमध्ये एउटा पुस्तकले मदन पुरस्कार–२०७४ प्राप्त गर्नेछ ।
मदन पुरस्कार लाई नेपाली साहित्य जगतमा प्रतिष्ठित पुरस्कारको रूपमा हेरिने गरिएको छ वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ
गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो।
वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो। अहिले पुरस्कार राशि दुई लाख रूपैयाँ छ।
मदन पुरस्कार- २०७४ सालका लागि सूचीमा परेका आठ पुस्तकहरू
कैरनः ध्रुवसत्य परियार
नथियाः सरस्वती प्रतीक्षा
पाठशालाः तीर्थ गुरूङ
भुइयाँः यज्ञश
यारः नयनराज पाण्डे
योगमायाः नीलम कार्की ‘निहारिका’
लिम्बुनी गाउँः राज माङलाक
हिमाली दर्शनः मोहन वैद्य ‘किरण’