लेखराम सापकोटा -गैंडाकोट, ६ साउन ।
कफी र काफियाको ११ औं श्रृंखलामा नवलपरासीका सञ्जय भट्टराई र झापाका लोकेन्द्र बञ्जारा सुनिए । गैंडाकोटस्थित नारायणी रिसोर्टमा शनिबार आयोजना गरिएको कार्यक्रममा भट्टराई र बञ्जाराले दस–दस गजल सुनाएका हुन् ।
कार्यक्रमको सुरुआतमा बञ्जाराले ,
चोट नलाग्ने के पक्का छ निधारमा तिम्रो पनि
घर छ यहि दीनदुखीको संसारमा तिम्रो पनि ।
बर्सौंदेखि बेरोजगार छौ, खप्दै हौला म जस्तै,
कत्ती कुरा काटिदा हुन परिवारमा तिम्रो पनि ।
बालख छ्दैं लाको माया मेरै कारण छुट्न पुग्यो,
माफ गर्नु दुखाइदें दिल् बेकारमा तिम्रो पनि ।
ओ मेरो गोरो साथी तिमी पनि कालै बन्छौ,
लागेपछि समयको घाम अनुहारमा तिम्रो पनि ।
गजल सुनाए ।
बञ्जाराले अधिकांश गजल समसामयिक र व्यंग्य मिश्रित सुनाए । वैदेशिक रोजगारीका भाव झल्केका गजल पनि उनले सुनाए । उनी आफै पनि लामो समय वैदेशिक रोजगारीमा बिताएका व्यक्ति हुन् ।









मन भरी बोकेर त्रास र डरहरुलाई
बढाएको छु अगाडि सफरहरुलाई
साच्चै घमण्ड को मज्जा बल्ल हुन्थ्यो
रोक्न सके मृत्युका यी लस्करहरुलाई
यसकारण उ अचेल चस्मा लगाईरहन्छ
लुकाउनु छ सडकमा नजरहरुलाई
गाउँमा सडक भित्रीयो बिजुली भित्रीयो
ईष्र्या लागेको छ अचेल शहरहरुलाई
ओईलिएर फुल एक दिन अवश्य झर्छ
किन बुझाउदैन कोहि भ्रमरहरुलाई
अविरल अविरल बाटो देखाईरहेछ
र पनि छोडी हिडछ नदि बगरहरुलाई
जति नै मेहनत गरेर कसि लगाए पनि
सिधा बनाउन सकिएन पुच्छरहरुलाई
सञ्जय भट्टराई साठीको दशकको सुरुआतदेखि गजल साहित्यमा कलम चलाउँदै आइरहेका स्रस्टा हुन् । पेशाले अध्यापन गर्ने उनी स्थानीय एफएम रेडियोमा गजलसम्बन्धी कार्यक्रम पनि चलाउँछन् ।
बञ्जारा दमक झापाका युवा स्रस्टा हुन् । ५० को दशकदेखि नै नेपाली गजल साहित्यमा कलम चलाउँदै आएका बन्जारा एफएम रेडियो र सामाजिक संजाल प्रचलनमा आउनु अगाडि नेपालमा अत्यन्तै लोकप्रिय रहेको हवाइ साहित्यका एउटा अभियन्ता पनि हुन् । झापाबाट उनको सम्पादनमा निस्कने साहित्य आकाश हवाइ पत्रिका हुलाकी ठेगानामार्फत देशैभरका स्रस्टाको घरघरमा पुग्थ्यो ।
अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले लिएको स्थान त्यतिबेला हवाइ पत्रिकाले ओगटेको थियो । बञ्जाराको ‘आँखाभरि सपना र जैतुन’ गजल श्रृंखला पनि प्रकाशित छन् । सिर्जन साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाचन भएका गजलबारे गोविन्दराज विनोदी, डा. मतिप्रसाद ढकाल, गोकुल सापकोटा, शंकर अधिकारी र सुजन अधिकारीले बोले ।
गोविन्दराज विनोदी र धनराज गिरीको युगल गजल वाचनमा २०७४ साउनबाट सुरु भएको यो श्रृंखलामा अहिलेसम्म ११ जोडी गजलकारले गजल सुनाएका छन् ।