गृहपृष्ठ खबर अब सुत्केरी भैँसी पाल्ने किसानलाई पोषण भत्ता

अब सुत्केरी भैँसी पाल्ने किसानलाई पोषण भत्ता

प्रकाशित मिति:

 म्याग्दी, १० साउन–मंगला गाउँपालिकाले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ।सुत्केरी अवस्थाका गाई भैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो। यस वर्ष १९ भैँसीपालक कृषकलाई तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए।

कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो। व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताए। घाँसपात बाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ।

              File Photo

यसैगरी मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाएको छ।

कुहुँका योगेन्द जुक्जाली, अर्मन धाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थिरमती शर्माले उन्नत जातको बोका खरिद गर्न १५ हजारका दरले अनुदान पाएको छ।

मंगला गाउँपालिका– ४ मा बुकेनी व्यावसायिकउन्मुख बाख्रापालन समितिमार्फत बाख्रा पैँचो कार्यक्रम शुरु भएको छ। कार्यक्रम मार्फत दुई वर्षअघि कुहुँको पैँयुपाटाको समूहलाई बाख्रा खरिदका लागि दिइएको अनुदान फिर्ता गरेर बुकेनीको समूहलाई उपलब्ध गराइएको छ।

पचास जना आबद्ध समितिअन्तर्गत १०–१० जनाका दरले पाँच वटा समूह बनाइएको छ । प्रत्येक समूहलाई उन्नत जातको बोका खरिदका लागि १५ हजारका दरले उपलब्ध गराइएको छ।

सम्बन्धित् समाचार