लार्चा (सिन्धुपाल्चोक) — चिनियाँ ठेकेदारले बाह्रबिसे तातोपानीको लार्चामा सुक्खा बन्दरगाहको निर्माणलाई तीव्रता दिएको छ । भूकम्पपछि रोकिएको निर्माणले तीव्रता पाएको हो । चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी) ले आठ महिनामा पूरा गर्ने लक्ष्य राखेर निर्माण अघि बढाएको छ ।
ठेकेदार कम्पनीका अनुसार ७ एक्साभेटर, १० वटा टिपरलगायत अत्याधुनिक उपरकणद्वारा प्रयोग गरेर बन्दरगाहको निर्माण भइरहेको छ । नेपाली र चिनियाँका ४५ कामदार दैनिक काममा छन् । बन्दरगाहको एक वर्षमै हस्तान्तरण गर्ने योजना बनाएको उनले जनाए । बन्दरगाहको मुख्य कार्यालय, भन्सार यार्ड, क्वाटरलगायतका प्रमुख संरचना क्षतिग्रस्त छन् । पहिलेको संरचनालाई सम्भार गर्दै थप पुनर्निर्माणको कार्यलाई गति दिइएको छ ।
भूकम्पले क्षतिग्रस्त कोदारी राजमार्ग सीआरसीसीले चाँडै बन्दरगाह सकेर सडक स्तरोन्नति गर्नका लागि कार्ययोजना बनाएको छ । गत भदौ १७ मा भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोनमस रिजनकी छुङलीउसहितको टोलीले बन्दरगाहको कार्य र सडक निरीक्षण गरेको थियो । छुङलीउले चाँडै र राम्रोसँग बन्दरगाहको कार्यलाई सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । भोलिपल्ट बसेको बैठकले भौतिक संरचना पूर्ण रूपमा तयार भए नाका खुल्ने आश्वासन चीनले दिएको थियो । बन्दरगाहको कार्य सकिने अवस्थामा पुगे पनि अन्य संरचनाको अवस्था भने जीर्ण छ ।
‘नाका खोल्न बन्दरगाह बनाइएको हो कि भन्ने लागेको छ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले भने, ‘सरकारले सडक निर्माणमा जोड दिनुपर्यो । खण्डहरमा परिणत भइसकेको बन्दरगाह चीनले बनाउन थालेपछि नाका खोल्ने संकेत देखेर उत्साहित भएको उनले सुनाए ।
चीनको आर्थिक सहयोगमा २०६९ पुसबाट निर्माण सुरु भएको बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ । यसको लागत १ अर्ब २० करोडको रहेको छ । निर्माण थालेको २ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखे पनि जुरे पहिरो, भूकम्प र बाढीले रोक्दै आएको थियो । राजमार्गबाट बन्दरगाह जोड्न भोटेकोसीमा बनाइएको पक्की पुलको निर्माण अन्तिम चरणमा पुग्न लाग्दा २०७१ मा बाढीले बगाएको थियो । पुन: साउन १७ मा आएको जुरे पहिरो र ०७२ को भूकम्पले बन्दरगाहको निर्माण पूरा ठप्प बनाएको थियो ।