गृहपृष्ठ खबर कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा,

कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा,

प्रकाशित मिति:


रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

रक्सौल-काठमाडौँ विद्युतीय रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको जिम्मेवारी भारतको जम्मु-कस्मीरमा रेलमार्ग निर्माण गर्ने कम्पनीले पाएको छ।

१५ भदौमा नेपाल-भारतका अधिकारीहरुबीच भएको यस सम्बन्धी समझदारी पत्रमा पूर्व सम्भाव्यता अध्ययन कोंकण रेलवे कर्पाेरेसन लिमिटेड गर्ने उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र भारतीय राजदूत मन्जितसिँह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

रक्सौल-काठमाडौँ विद्युतीय रेल भारत सरकारको सहयोगमा निर्माण हुने सहमति प्रधानमन्त्री ओलीको चैत्र अन्तिम साता भएको भारत भ्रमणको क्रममा भएको थियो।

भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व सम्भाव्यता अध्ययनको जिम्मा उसैले दिएको हो।

कोंकण भारतमा रेलमार्ग निर्माणका लागि ख्यातिप्राप्त कम्पनी हो। भारतको हिमाली क्षेत्रमा पर्ने कास्मीर-बरमुल्लासम्मको रेलमार्ग यही कम्पनीले बनाइरहेको छ।

चीन हुँदै आउने लेक पाइकु (केरुङ)-काठमाडौँ रेलमार्ग जस्तै भारत हुँदै ल्याउन लागिएको रक्सौल–काठमाडौँ रेलमार्गमा पनि अत्याधिक सुरुङ र पुल हुने प्रारम्भिक अनुमान छ। यसै आधारमा कोंकणलाई पूर्व सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको हो।

किनभने, जम्मु-कास्मीर-बरमुल्ला रेलमार्ग निर्माणको जिम्मेवारी पाएको कोंकणले रेलमार्गमा पर्ने १४ किमी लामो सुरुङ बनाएको छ भने चेनब नदीमा निकै अग्लो पुलपनि निर्माण गरेको छ।

‘चेनब नदीमा निर्मित रेलवे पुल ३ सय ५९ मिटर अग्लो छ’ स्रोतले भन्यो, ‘सुरुङ र पुल जस्ता अप्ठेरा निर्माणको अनुभव भएकाले पनि कोंकण छानिएको हो।’

यसबाहेक मुम्बईदेखि केरलासम्म करिव ८ सय किलोमिटर लामो रेलमार्गपनि कोंकणले नै निर्माण गरेको हो। सो रेलमार्गमा ९१ वटा सुरुङ छन्, जसको कूल लम्बाई ८० किमी छ।

चीनबााट काठमाडौँ जोड्ने रेलमार्ग जस्तो जटिल भूबनोटमा बन्दैछ, उस्तै जटिल भूबनोट रहेकाले रक्सौल-काठमाडौँ रेलमार्गलाई पनि चुनौतिपूर्ण मानिएको छ।

‘तर, ठूल्ठूला सुरुङ र पुलयुक्त रेलमार्ग निर्माणको अनुभव भएकाले पूर्व सम्भाव्यता अध्ययनका लागि पनि कोंकण नै छनोटमा परेको छ’ स्रोतले भन्यो, ‘सम्भवत रेलमार्गको डिपिआर बनेपछि पनि उसैले निर्माणको जिम्मा पाउनेछ।’

सम्बन्धित् समाचार