अन्तराल ( Interval )
************
– मनोज बिश्वकर्मा
तिम्रो अाखाँलाई देखेपछि
मैले महसुस गरको थिएँ
आफ्नो आखाँबाट टुक्रिएका किरणहरू !
तिम्रो पैतलालाई हेरेपछि
मैले थाहा पाएको थिए
आफुले कुल्चिएको माटोको मूल्य !
तिम्रो ओठबाट
त्यसरी नखसेको भएँ तुईन
म हिड्न सक्ने थिईन
ताकेर जीवनको किनारा !
तिम्रो गर्धनमा नटासिएको भएँ
घाम जून जस्ता दुई बिन्दुली
मैले नियाल्न सक्ने थिईन जीवनको अर्थ !
तिमीलाई नभेटेको भए
तिम्ले त सिर्फ एउटा मुर्खको थप अनुहार हेर्नु पर्ने थिएन
तर मैले त छुनै पाउने थिईन
जीवनको समुद्र
उचाल्नै सक्ने थिईन
मरूभूमीमा गाडिएका आफ्नो पाईताला !
तिमी हिड्नु तिम्रो जीवनको हाईवेमा
र हामी भेट्टिनु
हिड्दा हिड्दै
तिम्रो पदचाप मेटिनु मबाट
तिमी त्यसरी नमेट्टिएको
मैले कैले लेख्न सिक्ने थिईन आफैलाई !
तर म बुझ्न सक्दिन
प्रत्येक पटक
जब मेरो हत्केलाको रेखाले भुल्छ तिम्रो ठेगाना
किन दुख्छ हाम्रो मुटु ?
दुरीको भिडहरूमा
जब तिमीलाई सम्झिन्छु
किन पुग्छ तिमीसम्म बाडुँली ?
कस्सम म बुझ्नै सक्दिन
जब तिमीलाई सम्झिन्छु
प्रत्येक पटक
किन रसाउँछ बादलहरूको आखाँ ?
किन लाग्छ
जब पत्ताको हत्केला छुट्छ रूखको हागाँबाट
म आफै च्यातिए जस्तो
तिम्रो हृदयको किताबबाट ?
सत्य सानु !
म बुझ्नै सक्दिन
जब खोज्दै हिड्छु तिमीलाई
किन खस्छ धरती आफ्नै पैतला मुनीबाट ?