गृहपृष्ठ खबर सिल्भर जातका माछा मर्दा किसानमा चिन्ता

सिल्भर जातका माछा मर्दा किसानमा चिन्ता

प्रकाशित मिति:

केही दिनदेखि सिल्भर जातका माछा धमाधम मर्न थालेपछि रूपन्देहीका मत्स्यपालक किसान चिन्तित बनेका छन् । छपिया, गैडहवा, सूर्यपुरा कम्हरीया लगायतका गाउँमा पोखरीमा पालिएका सिल्भर जातका माछा दिनहँुजसो मरिरहेका छन् । करिब दुई सातादेखि लगातार माछा मरेपनि कति मरे र के कारणले मरे भन्ने पत्ता लाग्न सकेको छैन । रूपन्देहीको सबैभन्दा ठूलो ८३ बिगाहाको गैडहवा तालमा पालिएका माछा मरेका छन् । गैडहवा गाउँपालिकाले ठेक्कामा लगाएको तालमा करिब ७० हजार सिल्भर जातका माछा मरेको माछा पालक किसान तथा ठेकेदार शैलेन्द्र कुमार पासीले बताए ।
भदौ २५ गतेदेखि २९ गतेसम्म ६० हजार माछा मरेकोमा अहिले ३ दिनदेखि फेरी माछा मर्न लागेको उनले बताए ।छपियाको आरसीएएस कृषि फर्मका सञ्चालक रमेशचन्द्र मुराउले ७ बिगाहामा पालेका बिभिन्न जातका माछा मध्ये सिल्भर जातका माछा नै मरेका छन् । १० दिनमा २० क्युण्टल माछा मरेको उनले बताए । सबै माछाको जिब्रो क’हीएको र पखेटा कमजोर भएको उनले बताए ।
छपियाकै रामु शाहनीको नर्सरीमा पनि सिल्भर जातकै माछा मरेका छन् । ४ कठ्ठाको नर्सरीमा एक सातामा करिव २ सय सिल्भर जातका माछा मरेको शाहनीले बताए ।
गैडहवा, छपिया तथा अन्य स्थानमा कृषि प्राबिधिकहरूको टोली गएर निरीक्षण पनि गरिसकेको छ तर कारण पत्ता लगाउन सकेको छैन । प्राबिधिक टोलीले अज्ञात रोगले माछा मरेको निष्कर्ष निकालेर केन्द्रमा पठाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण मत्स्य परियोजना जोनका अधिकृत रमेश जैसवाल रूपन्देहीका माछा पालेका प्राय सबै क्षेत्रमा धेरै थोरै माछा मरेको तर सबैले खवर नगरेकाले यत्तिनै माछा मरे भन्न नसकिने बताए । बिभिन्न पोखरी र माछा मरेको अवस्था हेर्दा यस्तो खालको समस्या अहिलेसम्म नदेखिएकोले अज्ञात भनेर आफूहरूले भनेको उनले बताए ।
पानीका कारणले समस्या हो कि भन्दै किसानहरूले मत्स्य बिकास केन्द्रमा पानी परीक्षण समेत गराए तर पहिचान हुन सकेन । केन्द्रकी मत्स्य बिकास अधिकृत रुचि श्रीवास्तवले शुक्ष्म परिक्षणका लागि केन्द्रमा उपकरण नभएपनि सामान्य परिक्षणमा पानीमा त्यत्ति खराबी नदेखिएको बताइन् ।
अधिकाशं किसानले माछाको बिमा समेत गरेका छैनन् । बिमा गरेका किसानलाई पनि बिमा कम्पनीहरूले रकम उपलब्ध गराउन खासै चासो देखाउदैनन । गैडहवा तालको पाछाको बिमा गराएका शैलेन्द्रलाई अहिले फेरी मर्न लागेका माछा जोगाउने कि बिमा कम्पनीमा जाने भन्ने अन्यौल छ । उनले बिमा गरेको हिमालयन ईन्सुरेन्सले गाउपालिका, इलाका प्रहरी कार्यालय, प्रधानमन्त्रि कृषि आधुनिकीकरण मत्स्य परियोजना जोन, मत्स्य बिकास केन्द्र लगायतको ल्याव रिपोट, सिफारिस र मुचुल्का समेत पेश गर्दा वेवास्ता गरेको बताए । रूपन्देहीमा १ हजार १ सय २० हेक्टर क्षेत्रफलमा बार्षिक ५ हजार ५ सय मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । रूपन्देहीमा रहु, नैनी, कमन, सिल्भर, बिगहेड लगायतका जातका माछा किसानले पाल्दै आएका छन ।

सम्बन्धित् समाचार