वैखरी ! कपिलवस्तु असोज २० – न समाउने हांगो न टेक्ने जमिन , न दु:खमा साथ दिने इष्टमित्र न खुशीमा रमाउने छिमेकी ।
देशै भरी जेष्ठ नागरिक दिवस मनाइरहदा र जेष्ठनागरिकहरु अभिनन्दित भै रहदा कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ५ वैकुण्ठपुरका ८६ वर्षीय यन बहादुर क्षेत्रीलाइ आफ्नी ८८ वर्षीय श्रीमतीको रेखदेख र स्याहारसुसार गर्दै ठिक्क छ । उमेरले चार बीस कटेका बृद्ध दम्पती जस्को दैनिकी तपाइँ हामीले सोचे जस्तो सामान्य भने छैन ।
बाणगंगा नदिको छेउमा स्थानीय गाउँलेहरुको सहयोगमा बनेको सानो झुपडी जस्ले चैत मासको हुरी र बर्खा यामको झरीको ‘कहर’ बाट केही हद सम्म राहत प्रदान गरेको छ । स्थानीयहरुकै सहयोग बाट प्युने पानीका निमित्त चापाकल गाडिएको छ तर साझ बिहानको गर्जो टार्न भने सहयोगीहरुको बाटो हेर्न पर्ने अवस्था छ ।
८६ वर्षका यन बहादुर क्षेत्रीको शारीरिक अशक्तता त छ नै त्यस माथी आफ्नी ८८ वर्षीय दृष्टिविहिन श्रीमतीको स्याहारसुसार र रेखदेख गर्दा अझ धेरै कष्टमा छन उनी । बैँस छदा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेका बृद्ध र नि-सन्तान दम्पती उमेर घर्किए संगै समस्यामा परेको स्थानीय कृष्ण पोख्रेल बताउछन् । बृद्ध दम्पतीको स्वास्थोपचार र दैनिकी सहज बनाउन सरोकार वाला पक्षले ध्यान दिन आवश्यक रहेको स्थानीय सुनिल भट्टराई बताउछन् ।
उन्ले स्थानीय निकाय र संघ सस्थाहरुलाइ बृद्ध दम्पतीको दु:ख मा साथ दिन आग्रह समेत गरेका छन् । डाडा माथिका घाम जस्तै बनेका बृद्ध दम्पतीलाई सामाजिक अपनत्व हुने गरि साथ र सहयोगको आवश्यक रहेको छ ।