गृहपृष्ठ जीवन शैली पानीपुरी बेचेरै छोरीलाई दुई लाखको दाइजो

पानीपुरी बेचेरै छोरीलाई दुई लाखको दाइजो

प्रकाशित मिति:
काठमाडौं – बिहारको मोतिहारी र काठमाडौंमध्ये कुन बढी मन पर्छ भन्दा उहाँलाई जवाफ दिन निकै सोच्नुपर्छ । जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाललाई बनाउँदै आइका राम पण्डितलाई काठमाडौं आफ्नो मामा घर जस्तै लाग्छ । नलागोस पनि किन, आफ्नो जिन्दगीका ३० वसन्त उहाँले काठमाडौंमै बिताउनुभएको छ ।
unn.prixa.net

रामले बेलामा पढ्न सक्नुभएन । घरपरिवारको समस्या र जिम्मेवारीको बोझले पिरोलेपछि  उहाँलाई अब त कमाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि १८ वर्षको हुँदा घरबाट  निस्कनुभयो । नेपाल आउँछु भनेर केही सोच्नुभएको थिएन । रक्सौलमा पुगेपछि गाउँको मान्छेसँग भेट भयो । उनी काठमाडौं आउने भएपछि राम पनि उनकै पछि लागेर काठमाडौं आउनुभयो ।

काठमाडौं आएर गाउँको मान्छेसँगै जोरपाटी बस्न थाल्नुभयो । त्यतिबेला कालिमाटीबाट साइकलमा तरकारी बोकेर जोरपाटीमा बेच्नुहुन्थ्यो । साइकलमा एक क्वीन्टलसम्म तरकारी राखेर जोरपाटी पुर्याउनुहुन्थ्यो । त्यो क्षण सम्झिंदै उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला मेहनत बढी, कमाई कम हुन्थ्यो । कम लगानीमा बढी कमाउने सोचेर अब पानीपुरी बेच्नुपर्छ भन्ने लाग्यो ।’

त्यसपछि सुरु भयो पानीपुरी बेच्ने काम । टाउकोमाथि पानीपुरीको भाँडो राखेर बेच्न थाल्नुभयो । एक रुपैयाँ प्लेटमा बेच्न सुरु गरेको पानीपुरीको अहिले प्रतिप्लेट ४० रुपैयाँ पुगिसक्यो ।

बीस वर्ष भइसक्यो उहाँले पानीपुरी मात्रै बेच्न थाल्नुभएको । पानीपुरी बेचेर नै उहाँले परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।

पाँच जना छोराछोरीहरुलाई पढाउनु भयो, घर बनाउनुभयो, गाउँमै जग्गा लिनुभयो र छोरीको बिहे गर्नुभयो । बिहे मात्र होइन, छोरीलाई दुई लाख रुपैयाँको दाइजो पनि दिनुभयो । ‘के गर्ने, गाउँघरको चलन मान्नैपर्र्योे, दाइजो नदिएर त हाम्रोमा बिहे नै हुँदैन ’ उहाँले भन्नुभयो, ‘यो सबै गर्न यही पानीपुरीले नै सघायो ।’

सुरुमा उहाँले काठमाडौंमा पानीपुरी बेच्दा यहाँका मान्छेहरुलाई यसको बारेमा थाहा नै थिएन रे । उहाँ आफ्ना जीवनका रमाइला किस्सा सुनाउनुहुन्छ, ‘त्यतिबेला काठमाडौंमा पानीपुरी कमै बेचिन्थ्यो । फाट्टफुट्ट कतैकतै मात्र देखिन्थे । कतिले त  यो के हो भनेर पनि सोध्थे ।’

लामो वर्ष काठमाडौंमा बस्नुभयो । उहाँको साथीहरुले जनआन्दोलनको बेला नेपाली नागरिकता बनाए । तर राम पण्डितलाई भने, यसरी नागरिकता बनाउनु अपराध हो भन्ने लाग्यो । उहाँले दलालको हातमा एक हजार थमाएर नेपाली नागरिकता पाउने आशा कहिल्यै राख्नुभएन । भन्नुहुन्छ, ‘मनमा खोट राखेर पाएको कुनै पनि चिजले मान्छेलाई खुशी बनाउँदैन ।’

भारतबाट नेपालमा काम गर्न आउने धेरैले पानीपुरी बेचेर नै लाखौं कमाएर जान्छन् । तर नेपालीहरु भने यो काम गर्न अझै पनि लजाउँछन् । ‘खान नलजाउनेले काम गर्न चाहिँ किन लजाउनु ?’

दैनिक कति कमाइ भयो, यसले केही फरक पार्दैन । तर महत्वपूर्ण कुरा भनेको कति बचाउनसक्यो भन्ने हो । उहाँ सानो व्यापार गर्ने नेपालीहरुमा यो गुण छैन भन्नुहुन्छ । ‘हामीहरु चाहे जस्तोसुकै होस्, महिनामा पन्ध्र, बीस हजार रुपैयाँ घर पठाएकै हुन्छौं । तर यताका साथीहरु भने त्यही काम गरेर पनि महिनाको भाडा तिर्न पुग्दैन भन्छन्’ आफूले भोगेको र देखेसुनेको कुरा उहाँले बताउनुभयो ।

नेपालीहरुमा केटा मान्छे भन्दा पनि केटी मान्छेले नै यस्तो काम गरेको उहाँले देख्नुभएको छ । ‘अझैसम्म बुझ्न सकेको छैन यताको लोग्ने मान्छेहरुले किन यो काम नगर्नुभएको ?’, उहाँ आफैसँग प्रश्न गर्नुुहुन्छ ।

भारतबाट नेपालमा काम गर्न आउने धेरैले पानीपुरी बेचेर नै लाखौं कमाएर जान्छन् । तर नेपालीहरु भने यो काम गर्न अझै पनि लजाउँछन् । राम पण्डित व्यंग्यात्मक शैलीमा भन्नुहुन्छ, ‘खान नलजाउनेले काम गर्न चाहिँ किन लजाउनु ?’

अहिले राम पण्डित बागबजारमा दुई कोठा लिएर बस्नुभएको छ । कोठामा गाउँकै तीनजना साथीहरु पनि छन् । उहाँ जस्तै अरु साथीहरु पनि पानीपुरी बेच्ने काम गर्नुहुन्छ । पानीपुरीको सबै सामान उहाँहरु आफैं बनाउनुहुन्छ । आफैले बनाउँदा सस्तो पर्ने र स्वादिलो पनि हुने उहाँले बताउनुभयो । एक प्लेट पानीपुरी तयार गर्न १० रुपैयाँ जति लाग्छ । त्यसलाई उहाँले ४० रुपैयाँमा बेच्नुहुन्छ ।

बिहान ९, १० बजेतिर पानीपुरी बेच्न भृकुटीमण्डपतिर निस्किनुहुन्छ । ठेला त्यहीँ बाँधेर राखेको हुन्छ । आफूले कोठकाबाट बनाएर ल्याएका सामान ठेलामा मिलाएर राखेपछि सुरु हुन्छ उहाँको पानीपुरी बेच्ने दैनिकी । कहिले त्यहाँ बसेर खासै राम्रो कमाई नभएको जस्तो लाग्यो भने टाउकोमा बोकेर वसन्तपुरसम्म पनि पुग्नुहुन्छ । किनकी उहाँले जसरी भए पनि महिनाको पन्ध्र, बीस हजार रुपैयाँ बचत गर्नुपर्छ । अहिलेसम्म उहाँले सोचेजति कमाई पनि गर्दै आउनुभएको छ ।

 

सम्बन्धित् समाचार