काठमाडौँ,२४ कार्तिक –प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएकाे छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो ।
समाचारका अनुसार पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेका हुन् ।
२१ जुवाडे पक्राउ
काठमाडौं,२४ कार्तिक- दाङ गढवामा गए राति एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो ।
गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो । पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को ९क० अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरीले कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए।
त्यसैगरी प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची–७ भारती थोकबाट रु ६० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले शुक्रवार राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । जुवा खेल्ने बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए।
केही दिनअघि पनि प्रहरीले मेलम्ची–११ बाट छ जुवाडेलाई नगद रु ३४ हजारसहित पक्राउ गरेको थियो । आजसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई भोलि म्याद थपको लागि अदालत लगिने मल्लले जानकारी दिए। लाखौं रुपैयाँ तासमा हार्न थालेपछि घरकापरिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएको मल्लको भनाइ छ । पछिल्लो समय जिल्लामा जुवा, तास खेल्ने सङ्ख्या वृद्धि भएको प्रहरीको भनाइ छ ।
तिहारमा ५० लाखको फूलमालाको कारोबार
धनुषा, २४ कात्तिक- यस वर्ष तिहारमा जनकपुरमा ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए।
भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख बराबरको फूल आयात गरिएको थियो भने यस वर्ष फूलको माग बढेको हो ।
पुष्प व्यवसायीका अनुसार यस वर्षको काग तिहार र कुकुर तिहारमा मात्र २५ लाख बराबरको फूल बिक्री भएको छ । धनुषामा यस वर्ष फूलखेती गर्ने किसान बढेको र फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौँदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए।
फूल व्यवसायी मालीले भने, “हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ, तर फूललको माग बढेपछि गेना (सयपत्री), रजनीगन्धा (गोदावरी), मखमली (सुपारी फूल) र गुलाब फूल बाहिरबाट मगाएका हौँ ।”
यहाँ भारतको कलकत्ता, पटना, सिलीगुडीबाट फूल आयात गरिने व्यापारी बताउँछन् । व्यापारीका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपरेको मालीको भनाइ छ ।
यस क्षेत्रमा रहेका जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधामलगायतका धार्मिक मठमन्दिरमा अन्य दिनमा पनि दैनिक २० देखि २५ हजार बराबरको फूल बिक्री हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताउनुभयो । उनले भने, “म जानकी मन्दिर तथा राम मन्दिरको फूल स्टलबाट दैनिक रु तीनदेखि चार हजारको फूल बेच्ने गर्छु ।”
यसरी बिक्रीको अनुपात हेर्दा दैनिक २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान लगाउन सकिन्छ । फूलमालाको माग राम्रो भएको हुँदा यहाँ स्थानीयस्तरमै पुष्पखेती व्यावसायिक रूपले गर्न सके पुष्पमा जनकपुरलाई आत्मनिर्भर बनाउन सकिने धारणा जिल्ला वनस्पती कार्यालयका प्रमुख ताहिर हुसैनको छ ।रासस