गृहपृष्ठ कला/साहित्य गिरीको जरुवाजल सार्वजनिक

गिरीको जरुवाजल सार्वजनिक

प्रकाशित मिति:

भरतपुर, २७ कात्तिक । गजलकार धनराज गिरीको गजल संग्रह जरुवाजलको गृह विमोचन गरिएको छ । गजल मञ्च चितवनको आयोजनामा सगुन पार्टी प्यालेसमा कृतिको विमोचन गरिएको हो । कवि तथा गजलकार गोविन्दराज बिनोदी, एलबी क्षेत्री र प्रभाकर पण्डितले संयुक्तरूपमा कृतिको विमोचन गरे । विमोचन कार्यक्रममा स्रस्टा गिरीले केही गजल पनि सुनाए । विभिन्न चरणमा गरेर उनले सस्वर वाचन गर्नुकासाथै केही गजल गाएर प्रस्तुत गरे ।

कृतिका सन्दर्भमा रहेर समालोचक रमेश प्रभातले कृतिको चिरफार गरे । गिरी उमेरले पाका भए पनि उनले तन्नेरी गजल लेखेका छन्, रमेश प्रभातले भने – समाजशास्त्रीय कोणबाट उनका गजल अझै अब्बल छन् । गजलकार गिरी चितवनमा मात्रै नभएर देशैभर प्रसिद्द छन् । व्यवहारमा जस्तै लेखनमा पनि विशेषगरी ठट्यौली पाराका उनलाई बिदेशमा रहेका नेपाली स्रस्टाले पनि उत्तिकै रूपमा चिनेका छन् । धनराज मित्रताको लामो लहरा भएका मान्छे हुन्, समालोचक रमाकान्त सापकोटाले भने – धनराजको साथी बन्न पाउनु जो कोहिका लागि पनि सुखद पक्ष हो । कवि एलबी क्षेत्रीले गिरी धेरै गजल लेख्ने स्रस्टा भए पनि उनका केही गजलमा काव्यिक सौन्दर्यताको चेत भएको दाबी गरे । कवि गोविन्दराज बिनोदीले गिरी आशुकवि भएको बताए । गिरीमा कुनै पनि सन्दर्भमा तुरुन्तै कविता, गजल लेख्न सक्ने क्षमता छ, बिनोदीले भने – उनले लेखेका गजल करेक्सन गर्न नपर्ने खालका उत्कृष्ट हुन्छन् ।

कार्यक्रममा किसान प्रेमी र द्वारिका नेपालले पनि उनका गजल माथी बोलेका थिए । गजलकार गिरी गजल मञ्च चितवनका स्थापनाकालीन अध्यक्ष हुन् । मञ्चका संस्थापकको गजल संग्रह विमोचन गर्न पाउनु संस्थाको ठुलो उपलब्धि भएको कार्यक्रमका सभापति प्रभाकर पण्डितले बताए ।

सम्बन्धित् समाचार