काठमाडौं,५ मङसिर-नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ८ गते शनिबार काठमाडौंमा प्रर्दशनसहितको जनसभा आयोजना गर्न लागेको हो ।पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा प्रर्दशनसहितको जनसभा गर्न लागिएको केन्द्रिय सदस्य चिरन पुनले जानकारी दिनु भयो । जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन ।
जनसभा काठमाडौंको शान्ति बाटिकामा आयोजना हुनेछ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रमको सार्वजनिक गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनसभामा सहभागी हुन पनि सबैलाई आह्वान गरिएको छ । यो पनि पढ्नुहोस् -मुलुकभर चिसो बढयो काठमाडौँ, ५ मङ्सिर-काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। ‘सिजनल इफेक्ट(मौसमी प्रभाव)ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उनले भने।
मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ। पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ। अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए।महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ। केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ। यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ। तापक्रम क्रमशः घट्दो क्रममा छ।