गृहपृष्ठ खबर आइएसविएन नम्बर अब अनलाइनबाटै

आइएसविएन नम्बर अब अनलाइनबाटै

प्रकाशित मिति:

काठमाडौँ, १४ मङ्सिर-‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ।

पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको बताए। यसअघि लेखकले आइएसविएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो। अनलाइनबाट फारम भरेपछि आइएसविएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बैंकबाट पठाउनुपर्नेछ।

सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आइएसविएनको प्रतिनिधिका रुपमा नेपालका प्रकाशित पुस्तकलाई आइएसविएन प्रदान गर्ने गरेको छ। उनका अनुसार अहिले त्रिविमा करीब ४० हजार पुस्तकले आइएसविएन नम्बर लिइसकेका छन्।

आइएसविएनका लागि पुस्तकालयले ३०० शुल्क लिने गरेको छ। पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेशन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ। पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताए।

पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरशीप यन्त्र प्रयोग गरिन्छ। उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताए।

पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने छ। त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ। अहिले पुस्तकालयमा करीब चार लाख पुस्तक रहेका छन्।

सम्बन्धित् समाचार