चीनको विशाल दुरसंचार तथा मोबाइल कम्पनी हुवावेकी उप–प्रमुख तथा वित्त प्रमुख मेङ्ग वान्जु क्यानडामा पक्राउ परेकी छन्।
हुवावेका संस्थापक रेन जेनफीकी छोरी वान्जुलाई गत डिसेम्बर १ मा पक्राउ गरिएको क्यानडाको न्याय मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयले अमेरिकी सुरक्षा निकायको आग्रहमा आफूले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।
पक्राउबारे क्यानडाले विस्तृत जानकारी नदिएपनि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवावेले तोडेको विषयमा अमेरिकाले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ।
घटना लगत्तै क्यानडामा रहेको चिनियाँ दूतावासले वान्जुलाई विना कारण पक्राउ गरिएको भन्दै विरोध जनाएको छ।
चिनियाँ दूतावासले तत्काल रिहा गर्न आग्रह गरेको छ। हुवावेले वान्जुले अमेरिका र इरानबीचको मामलामा कुनै नकरात्मक काम नगरेको स्पष्टिकरण दिएको छ।
अमेरिकी सञ्चार माध्यम के भन्छन्?
अमेरिकी सञ्चार माध्यमहरुले अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवावेले तोडेको बारे अनुसन्धान गरिरहेको बताएका छन्।
‘न्यूयोर्क टाइम्स’ का अनुसार, अमेरिकी वाणिज्य विभागले इरान र उत्तर कोरियामाथि लगाएको अमेरिकी प्रतिबन्ध हुवावेले उल्लंघन गरेको विषयमा तथ्यहरु जुटाइरहेको छ।
अमेरिकी विधान निर्माताहरुले बारम्बार हुवावेलाई अमेरिकी सुरक्षाको खतरा रहेको बताउँदै आएका छन्।
हुवावेले आफ्नो मोबाइलमार्फत् अमेरिकासहित अन्य राष्ट्रको जासुसी गर्ने गरेको अमेरिकी आरोप छ।
हुवावे उप–प्रमुखको गिरफ्तारीको खबरसँगै अमेरिकी सिनेटर बेन सासेले एपीसँग चीन अमेरिकी सुरक्षाको मामला भड्काउन लागिपरेको आरोप लगाएका छन्।
चीनले र हुवावेले के भने?
हुवावेले कम्पनीकी उपप्रमुख वान्जुलाई पक्राउ गरिएको खबरसँगै एक विज्ञप्ती जारी भनेको छ,‘हुवावेले संयुक्त राष्ट्रसंघ, अमेरिका र यूरोपेली युनियनको सबै किसिमको नियम, कानुन र प्रतिबन्धलाई आफुले पालना गरेको छ।’
क्यानडास्थित चिनिया दूतावास भने हुवावे भन्दा अझ कडा रुपमा उत्रिएको छ।
दूतावासले अमेरिकी र क्यानाडेली कुनै कानुन उल्लंघन नगरी वान्जु पक्राउ हुनु मानव अधिकारको उल्लंघन भएको बताएको छ।
चिनियाँ दूतावासले वान्जुलाई तत्काल रिहा पनि माग गरेको छ।
हुवावेमा पश्चिमा चासो किन?
हुवावे विश्वमै एक विशाल मोबाइल तथा दुरसंचार कम्पनी हो। हालै मात्र अमेरिकी एप्पल कम्पनीलाई पछि पार्दै हुवावे सामसुङपछि दोस्रो ठूलो स्मार्ट फोन बनाउने कम्पनी बनेको छ।
चिनियाँ हुवावे मोबाइलले एप्पलको बजार प्रतिस्थापन गर्नेभएपछि अमेरिकाले हुवावेले चीन सरकारलाई हुवावेको मोबाइल तथा विद्युतीय उपकरणबाट जासुसी गर्ने आरोप लगाएको छ।
चीन र अमेरिकाको व्यापार युद्धले समेत अमेरिकी बजार ओरालो लाग्न थालेको छ।