प्रदेश नम्बर ५ मा प्रदेशसभाका विभिन्न सभापाति र दलका नेताहरूका लागि खरिद गरिएका गाडीमा अनियमितता भएको विषयमा छानविन गर्न गठित छानविन उपसमितिले प्रतिवदेन बुझाएको छ । उपसमितिले प्रतिवेदन आइतबार बुझाएको हो । पुस २७ गते बसेको सार्व्जिक लेखा समितिले गाडी खरिदका क्रममा अनयिमितता भएको भन्दै छानविनका लागि उपसमिति गठन गरेको थियो । उपसमितिले गाडी खरिदका कागजातहरू अध्ययन गरी प्रतिवदेन तयार पारेको हो ।
छानविन उपसमितिका संयोजक कुलप्रसाद पोखरेलले सार्वजनिक खरिद ऐनअनुसार नै गाडी खरिद भए पनि गाडी खरिद गर्नुको नियत गलत देखिएको बताए । उनले थप छानविनका लागि कानुनी, आर्थिक, प्राविधिक पक्ष बुझेका जानकारहरूसँग छलफल गर्नुपर्ने भएकाले सदस्य थप्नुपर्ने रायसहितको प्रतिवेदन समितिलाई बुझाएको बताए । प्रदेश ५ को लेखा समितिको बैठकले सदस्य थपको निर्णय गर्ने बताइएको छ ।
सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले उपसमितिले बुझाएको प्रतिवेदनमा थप अनुन्धान गर्न समय दिने र बाँकी काम लेखा समितिले गर्ने बताए । उनले उपसमितिले डकुमेन्ट सङ्कलन गर्ने, अनुसन्धान गर्ने र अन्त्यमा गाडी खरिदमा जोडिएका सरोकारवाला पक्षसँग सयुक्त रूपमा बयान लिने बताए ।
यसअघि प्रदेशसभाले खरिद गरेका गाडीहरूमा आर्थिक चलखेल भएको समाचार आएको थियो । समाचार आएपछि सभापति डिल्ली चौधरी र नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल गाडी फिर्ता गरेका थिए । खरिद गरेका १३ वटा गाडीमध्ये ११ वटा गाडी टाटा स्ट्रोम थिए ।