गृहपृष्ठ खबर पशु विमाप्रति कृषकको आकर्षण बढ्दो

पशु विमाप्रति कृषकको आकर्षण बढ्दो

प्रकाशित मिति:

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पालेका छन् ।

परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आएका उनले गाउँमा पशुबिमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थालेका हुन् । पराजुलीले भने, “गाउँमा पशुबिमा कार्यक्रम आएपछि निर्धक्कले गाई थप्दै गएँ, अहिले पाँच पुगे सबैको बिमा गरिसकेको छु ।”

खरीबोट

एउटा गाई पालिरहेका ज्याम्दीकै अर्का कृषक राजन पराजुलीले पनि हालै मात्र अर्को गाई थपेका छन् । उनले भने, “पशुबिमा कार्यक्रमका कारण अरु गाईभैँसी थप्ने मन त छ, तर घरका काम गर्ने दुईजना मात्रै भएकाले अहिले सकिनँ ।”

गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको छु” स्थानीयवासी हरिप्रसाद पराजुलीले भने ।

सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबिमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार बिमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताए ।

उनका अनुसार सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्दछ । “पशुबिमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाले भने ।

पशुबिमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ ।

पशुबिमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ ।

सम्बन्धित् समाचार