
यूएई भ्रमणमा रहेको नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा २५५ रनको लक्ष्य पाएको छ ।
टस जितेर बलिङ गर्ने निर्णय गरेको नेपालले यूएईलाई निर्धारित ओभरमा पाँच विकेट लिँदै २५४ रनमा रोक्यो ।
नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए । पहिलो दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखेका थिए भने तेस्रो ओभरमा नेपालले विकेट लिन सफल भयो । सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीबाट क्याच आउट गराए ।
छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शून्य रनमै विनोद भण्डारीबाट क्याच आउट गराए । पहिलो पावरप्लेको समाप्तिमा यूएईलाई नेपालले १४ रनमा रोक्यो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम स्कोर बनेको छ ।
२०औं ओभरमा सन्दीप लामिछानेले गुलाम शाब्बरलाई एलबीडब्ल्यू आउट गराए । शाब्बरले १८ रन बनाएका थिए । त्यसपछि २१औं ओभरमा पारस खड्काले मोहम्मद उस्मानलाई ललित राजवंशीबाट क्याचआउट गराएपछि नेपालले चौथो विकेट हात पारेको थियो ।
त्यसपछि करणले चुन्डोपिल रिजवानलाई ४५ रनको अवस्थामा विनोद भण्डारीबाट क्याचआउट गराएपछि नेपालले पाँचौं विकेट लिएको थियो ।
त्यसपछि शाइमान अनवर र मोहम्मद बूताले उत्कृष्ट ब्याटिङ गरे । अनवरले ८७ रन जोड्दा बुताले ५९ रन जोडेका थिए ।
अपडेट: माघ १४, २०७५